
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार २० दिनपछि सिंहदरबारमा भेटवार्ता भयो ।
भेटमा उनीहरूबीच विविध राजनीतिक विषयमा कुराकानी भयो । त्यसमा पनि मुख्यगरी ३ विषयका सन्दर्भमा विशेष छलफल भएको प्रधानमन्त्री प्रचण्डका सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार उनीहरूबीच सङ्क्रमणकालीन न्याय, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र नेपालको पछिल्लो राष्ट्रिय राजनीतिक अवस्थाका सन्दर्भमा उनीहरूबीच विशेष छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीले सरकारलाई प्रमुख प्रतिपक्ष दलको सबै विषयमा सहयोग रहने तर, ‘स्कीप’ गरेर अगाडि जान नहुने स्मरण गराए । “उहाँ (ओली) ले विपक्षीको तर्फबाट सरकारलाई सहयोग नै रहने तर, सबैलाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो,” प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।
राजनीतिक अवस्था, अहिलेको व्यवस्था गणतन्त्र, संघीयतालाई सबै दल मिलेर प्रभावकारी कार्यान्वयन गराउन आवश्यक रहेको र त्यसमा विपक्षीको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेकाले प्रधानमन्त्री प्रचण्डले विपक्षी नेता ओलीसँग संवाद गरेको मल्लले बताए ।