महोत्तरी। महोत्तरीको मटिहानी नगरपालिका ४ मझौराका करिव ५० वर्षिय सेवक सदा शारिरिक रुपले अपांग छन । उनको दाहिने खुटटा र हात बांगिएकोले उनी विना सहारा हिड्न र दाहिने हातले कुनै काम सरल तरिकाले गर्न असक्षम छन । तर उनको यस असक्षमतालाई कम गर्न उनले सहायक सामग्री पाएका छन । मुसहर समुदायलाई लक्षित गरि संचालनमा रहेको सिकाई केन्द्रमा उनकी नातिनी पढ्ने गरेकोले सो सम्भव भएको हो । उनकी नातिनी १४ वर्षिया खुश्वु सदा पढदै आएकि जानकी महिला जागरण समाज धनुषा र स्ट्रिट चाईलड अफ नेपालको सहकार्य तथा युकेएडको आर्थिक सहयोगमा संचालित एमएनएम कार्यक्रम अन्तर्गतको सिकाई केन्द्रको माध्यमले यो सदाले सहायक सामग्री पाएका हुन ।
सिकाई केन्द्रमा कखरा सिक्ने किशोरीहरु र उनको परिवारका सदस्यहरु मध्ये शारिरिक रुपले अपांग भएकाहरुलाई प्रेरणा अपांग पुनस्र्थापन केन्द्रको सहयोगमा संचालित अपांगता सहयोग कार्यक्रम अन्तर्गत तिनको उपचार समेत यस संस्थाले गराउन थालेपछि खुश्वुको सिकाईको फाईदा उनको हजुर बुवालाई पुगेको हो । नातिनी पनि कखरा सिकिरहेकि र आफ्नो अपांगताको समेत उपचार भैरहदा सेवक सदा अत्यधिक खुशी छन । प्रस्ट आवाज निकाल्न समेत समस्या रहेको सेवकले सहायक सामग्री लगाएपछि खुरुखुरु हिडेको देखेर परिवारका सदस्यहरु समेत औधी खुशी छन । महोत्तरीको विभिन्न पालिकाहरुमा उक्त संस्थाले चलाउदै आएको विभिन्न ३८ सिकाई केन्द्रहरुमा अध्ययन गरिरहेकि किशोरीहरु र उनको परिवारका सदस्यहरुलाई जाँच गरेकोमा सो मध्ये ३३ जना किशोरीका परिवारका सदस्यहरुलाई विभिन्न प्रकारका शारिरिक अपांगता भेटिएको थियो ।
उक्त जाँचमा गौशाला नगरपालिकामा सातजना,रामगोपालपुर नगरपालिकामा एकजना,भंगहा नगरपालिकामा तिनजना,मटिहानी नगरपालिकामा पाचजना,जलेश्वर नगरपालिकामा सातजना,एकडारा गाउपालिकामा एकजना,मनरा सिस्वा नगरपालिकामा तिनजना,महोत्तरी गाउपालिकामा तिनजना र पिपरा गाउपालिकामा तिनजनालाई शरिरका विभिन्न भागमा समस्या देखिएको थियो ।
अपांगता सहयोग कार्यक्रम अन्तर्गत एकजनालाई कृत्रिम हात,एकजनालाई कृत्रिम दुईवटा खुटटाका साथै अन्यहरुलाई आवश्यक्ता अनुसार जाँच गरि ह्विल चेयर,वैशाखी,ट्वाईलेट चेयर,ट्राई साईकिल,नि क्याप लगायतका विभिन्न सहायक सामग्री दिइएको हो । यता संस्थाले सोहि मध्येका दुई जनालाई एचआरडिसी बनेपा होस्पिटल र एकजनालाई किर्तीपुर अस्पतालमा थप उपचारको लागि समेत पठाएको छ ।
राज्यको सेवा सुविधाबाट बन्चितिकरणमा परेका मुसहर समुदायको उत्थान गर्न निरन्तर काम गर्दै आएको जानकी महिला जागरण समाज धनुषाका कार्यक्रम संयोजक शशिभुषण रायले मुसहर समुदायमा विद्यालय छाडेर घरको काममा पिल्सिएकी छोरी र बुहारी कखरा सिक्न थालेको खुशीसंगै उनको परिवारका सदस्यहरुको अपांगता कम गर्न प्रयास गर्न पाउदा सेवाप्रति थप उर्जा थपिएको बताए ।