
जनकपुरधाम : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन्।उनले बिहीबार बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष पद त्याग गरेको पत्र बुझाएका छन्।
नेता लेखीले नयाँ राजनीतिक यात्राको थालनी गर्न लोसपाको कार्यकारणी समितिको सदस्यबाट राजीनामा दिएका बताएका छन्।‘म यसपार्टीको केन्द्रीय कार्यकारणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
नेता लेखीले वैकल्पिक शक्ति बनाउने अभियानमा सफलता प्राप्त नभएपछि आफूले पार्टी परित्यागको निर्णय गरेको प्रतिक्रिया दिएका छन्।
‘सानो पार्टीमा रहेर राजनीति गरेँ। नयाँ पार्टी भन्ने पुराना पार्टीको आलोचना मात्रै गर्ने, यसरी हुँदैन, वैकल्पिक शक्ति बनाउनुपर्छ भन्दै आएको थिएँ। वैकल्पिक शक्ति बनाउने प्रयास थियो, सकिएन,’ उनले भने, ‘त्यसैले लोसपा छाडेको हुँ।’