जनकपुरधाम । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार यस प्रदेशमा पछिल्लो एकसाता यता कोरोना संक्रमितको बिरामी तीन गुणाले बढेको छ। प्रदेशका जिल्लाहरुमा पछिल्लो एक साताभित्र सक्रिय संक्रमितको संख्या तेब्बर पुगेको छ।
माघ १ गते ४ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित बिरामी रहेको अहिले सो संख्या १२ सय ११ पुगेको निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालयले जनाए अनुसार कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको जोखिम बढेसँगै यस प्रदेशका जिल्लाका भारतसँग सीमा जोडिएका नाकाहरूमा कडाइ गरिएको छ।
छिमेकी राष्ट्र भारतमा दैनिक हजारौँको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको छ। सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरिएको जानकारी दिए।
महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षण शुरू गरिसकेको छ। प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजीकरणमा पालिकाहरूमा पनि हेल्प डेस्कसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
मधेश प्रदेशको बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ। मुलुकको सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाकासमेत यस प्रदेशमै रहेको छ।
यस प्रदेशको ८ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमिटर मोटर बाटो र करिब पाँच सय ५७ स्थानका गल्लीहरूबाट नेपाल–भारत आवतजावत हुने गरेको छ।
यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भएपनि सम्बन्धित निकायबाट कडा निगरानी हुनु पर्ने अवस्था देखिएको छ।
देशकै प्रमुख नाका वीरगन्ज भन्सार नाकामा मात्रै आवतजावतमा कडाइ हुनसके पनि केही हदसम्म भारतबाट भित्रिन सक्ने कोरोना सङ्क्रमितहरूको पहिचान र नियन्त्रण हुनसक्ने विज्ञहरूले बताएका छन्।
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार प्रदेश नंं २ मा कोरोना संक्रमण हुनबाट जोगिनका लागि कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ५० प्रतिशत पुगेको छ । झाले पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करीब १२ प्रतिशतले बढेकोे जनाए।
बढ्दै गएको कोरोना संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो। गत २५ पुससम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशत मात्र रहेकोमा पछिल्लो दुई साताको अवधिमा त्यो संख्या बढेर करीब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झले जानकारी दिए।
उनका अनुसार पूर्ण खोप लगाउनेको संख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ।
त्यस्तै, १८ वर्षभन्दामाथि उमेर समूहमा एक डोज खोप लगाउनेको संख्या भने करिब ५९ प्रतिशत छ। त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताए।




