महोत्तरी – महिलाको प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा स्त्रीरोगसम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले मटिहानी नगरपालिकाको आयोजनामा प्रजनन स्वास्थ्य रुग्णताको निःशुल्क स्क्रिनिङ तथा व्यवस्थापन शिविर सञ्चालन गरिएको छ।
मटिहानी नगरपालिका–६ स्थित स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख हरिप्रसाद मण्डलले शिविरको उद्घाटन गर्नुभयो।




उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले महिलाको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको प्रारम्भिक अवस्थामै पहिचान र उपचार हुन सके जटिल रोगबाट बच्न सकिने उल्लेख गर्दै नगर क्षेत्रका महिलाहरूलाई शिविरको लाभ लिन आग्रह गर्नुभयो।

“महिलाको स्वास्थ्य नै परिवार र समाजको स्वास्थ्य हो,” उहाँले भन्नुभयो, “यस शिविरमार्फत महिलाहरूले आफ्ना स्वास्थ्य समस्याबारे समयमै जानकारी प्राप्त गरी आवश्यक उपचार तथा परामर्श लिन सक्नेछन्, जसले उनीहरूको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउनेछ।”
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलका अनुसार दुई दिनसम्म सञ्चालन हुने शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट विभिन्न प्रजनन तथा स्त्रीरोगसम्बन्धी रोगहरूको परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिनेछ।

शिविरमा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) को पहिचान तथा उपचार, पाठेघर खस्ने (आङ खस्ने) समस्याको परीक्षण तथा उपचार, स्तन क्यान्सरको प्रारम्भिक परीक्षण, बाझोपन तथा अब्स्ट्रेटिक फिस्टुलासम्बन्धी समस्याको पहिचान र उपचारसहित अन्य स्त्रीरोगसम्बन्धी सेवा उपलब्ध गराइने जनाइएको छ।

स्वास्थ्य शाखा प्रमुख मण्डलले लक्षित सबै महिलालाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको प्रारम्भिक अवस्थामै उपचार सम्भव बनाउने बताउनुभयो।
शिविर सञ्चालनसँगै स्थानीय महिलाहरूमा उत्साह देखिएको छ। आर्थिक अभाव वा स्वास्थ्य सेवाको पहुँच नपुगेका महिलाहरूका लागि शिविर महत्वपूर्ण अवसर बनेको स्थानीयवासीले बताएका छन्।

महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउने लक्ष्यसहित आगामी दिनमा पनि यस्ता जनस्वास्थ्यमुखी कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।














