महोत्तरी। प्रदेश २ अन्तरगत पर्ने महोत्तरी जिल्लाको औरही नगरपालिका ७ स्थित रहेको सोनामाई मन्दिरमा लाग्ने भूत मेलाको सम्पूर्ण तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
औरही नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित श्री सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । हरेक वर्ष वडादशैको चौठिदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष आइतबार बाट सुरु हुँदै छ ।वडा दशैंको चौठिदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन भने श्री सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जन विश्वास रहेको छ ।
वर्षौदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु श्री सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै को कसबाट सताईको बारे आफै भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै , रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन र दरबारमा पुगेका पीडितहरु माताको दृष्टिपरेपछि निको भई आ(आफ्ना घर र्फकने गरेको पुजारी केदार झाको भनाइ छ ।सप्तमीदेखि बिजयादशमी सम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारतका बिभिन्न शहरसम्मका हजारौ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा स्थानीय बताए ।
घर-घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी पीडितहरु आ-आफ्ना घरबाट यहाँ आउँछन् भने श्री सोनामाई शक्तिपीठबाट हाँस्दै जाने झाँक्रीहरु बताउँछन् ।सोनामाई शक्तिपीठमा दर्जनौ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए ।माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ ।








