जनकपुरधाम। जनता समाजावदी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादव र मुख्य सचिव शम्भु झा ले आ-आफ्नो पदबाट राजीनामा दिएका छन् । यादवले पार्टीको एक व्यक्ति एक पद अवधारणा अन्तर्गत उनले प्रदेश अध्यक्ष पदबाट आइतबार राजीनामा दिएको बताईएकाे छ। यादव पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य समेत छन् ।श्रोतका अनुसार प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री यादव आइतबार नै पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएका हुन् ।
त्यसैगरी जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले मुख्य सचिव सहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएको हो ।जसपा पार्टीमा काम गर्नै आफूमा योग्यता र क्षमता नभएकोले प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी बाट राजीनामा दिएको झाले बताए।झाले भने, ‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी बाट राजीनामा दिएको छु ।’जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताए । उनलेभने, ‘म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋृणी रहिरहनेछु।'उनले आफू अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने समेत बताए ।
प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला विजय यादव र शम्भु झाले पार्टी आ-आफ्नो पदबाट राजीनामा दिएका हुन् । अध्यक्ष यादवले तत्कालिन राजपाबाट जसपामा आएकालाई समेत समायोजन गरी प्रदेश समिति आजै घोषणा गर्ने कार्यक्रम रहेको छ ।




