धनुषा- धनुषाका ३१ जना किशोरीहरुलाई ५ दिने आधारभुत पत्रकारिता तालिम दिइएको छ । द गर्ल फस्ट फन्डको आर्थिक सहयोग तथा जानकी महिला संजाल धनुषाको आयोजनामा धनुषाका ३१ जना किशोरीहरुलाई पत्रकारिता दिएको हो ।
असोज २० गतेदेखि सुरु गरिएको आधारभुत तालिममा लक्ष्मीनियाँ गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिकाका ३१ किशोरीहरुलाई पत्रकारिता तालिम दिइएको हो ।
असोज २४ गते जानकी महिला संजाल धनुषाका अध्यक्ष मालती देवी ठाकुरको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
आयोजित समान कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष मनिका झा, प्रशिक्षकद्धय अजयकुमार साह र दिपेन्द्रप्रसाद सिंह, जानकी महिला संजालका कोषाध्यक्ष लता लामा, आभा सुमनलगायतको उपस्थितीमा तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक देवकुमार महतोले बताउनु भयो ।
५ दिने आधारभुत तालिमले किशोरीहरुको क्षमता अभिवृद्धि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बताउनुभयो । ५ दिने आधारभुत तालिमले पत्रकारिताबारे सिकेका कुराहरु व्यवहारमा उतार्न समेत प्रमुख जिल्ला अधिकारी वास्तोलाले आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ धनुषाका शाखा अध्यक्ष मनिका झाले पत्रकारिता निकै चुनौती रहेतापनि यस क्षेत्रमा महिलाहरुको संख्या बढ्दै गएकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले ५ दिने तालिमको क्रममा सिकेका कुराहरुलाई काम गर्ने क्रममा व्यवहार लागु गर्न आग्रह गर्नुभयो ।