जनकपुरधाम । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई सभामुखले गरेको पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनीहरूको पदावस्था यथास्थितिमा राख्न निर्देश दिएको हो।
सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका प्रदेशसभा सदस्य— उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा)— ले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।



सोमबार रिटको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेशसँगै कारण देखाऊ आदेश (show cause order) जारी गरेको छ र अन्तरिम आदेशबारे थप छलफलका लागि सम्बन्धित पक्षहरूलाई उपस्थित हुन पनि बोलाएको छ।
यसअघि गत बिहीबार सभामुख मण्डलमाथि पदअनुकूल आचरण नगरेको आरोपसहित प्रस्ताव दर्ता भएको थियो। एमाले बाहेक अन्य दलहरूले सभामुखलाई पदमुक्त गराउने प्रस्ताव अघि सारेपछि, त्यसको प्रत्युत्तरस्वरूप सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेको विवाद उत्पन्न भएको थियो।




