‘कमल थापाको कुराबाट के प्रस्ट हुन्छ भने राप्रपा राजाबाट चल्ने पार्टी हो। राजालाई बोकेर राजनीतिमा टिकिँदैन भन्ने पनि सन्देश दिएको छ। सबैले युग सुहाउँदो राजनीति गर्नुपर्छ। आफूलाई श्रीपेच विनाको राजा सम्झिए जोसुकै नेताको कमल थापाकै हालत हुन्छ।’
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा कमल थापाको १५ वर्ष लामो विरासत ढलेको छ। झापाका राजेन्द्र लिङ्देनले राप्रपाको पहिलो एकता महाधिवेशनमा थापालाई २२७ मतान्तरले पराजित गरेका छन्।
लिङ्देनले १८ सय ४४ मत पाउँदा थापाको पक्षमा १६ सय १७ मत आयो। हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको राप्रपामा लिङ्लेन आएपछि नेपाली राजनीति नै तरंगित हुन पुगेको छ।
राजसंस्था हुँदा होस् वा राजसंस्थाको अत्यपछिको अवस्थामा, कमल थापा सधैं नेपाली राजनीतिमा महत्वपूर्ण खेलाडीको रुपमा रहँदै आएका छन्। विचार मिल्ने–नमिल्ने सबै दलको सरकारमा सहभागी भएर उनले सत्तामा रजाइँ गरिरहेकै छन्।
नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठ कमल थापाको पराजयलाई अनुदार पुस्ताको अन्त्य भएको ठान्छन्। ‘कमल थापाको पराजयले अनुदार पुस्ताको अन्त्य भएको देखाएको छ। नयाँ पुस्तामा पनि पुराना पुस्तालाई विस्थापित गर्ने क्षमता वृद्धि भएको छ। अब नेपाली राजनीति पुरानै एजेन्डा र सोचले अगाडि बढ्न सक्दैन भन्ने यो गतिलो प्रमाण हो,’ उनले भने।
अन्य दलले पनि यसबाट पाठ सिक्नुपर्ने श्रेष्ठ सुझाव दिन्छन्। ‘कमल थापाले आफूलाई राजतन्त्रको प्रतीक र हिन्दु राज्यको प्रवर्तकको रूपमा लिनुहुन्थ्यो। अब त्यो प्रवृत्तिको अन्त्य भएको छ। राजेन्द्र पनि फरक एजेन्डा बोक्ने पात्र त होइनन् तर उनमा कमल थापाको प्रवृत्ति देखिनु हुँदैन,’ उनले भने।
लिङ्देनले पनि बेलाबेलामा आफू राजा नजिकको मान्छे भएको देखाउन खोजेको र हिन्दु राज्य नै आफ्नो प्रमुख एजेन्डा भएको बताएकाले नेतृत्व फेरिँदैमा राप्रपामा धेरै नै राजनीतिक सोच भने नफेरिनेमा श्रेष्ठ ढुक्क छन्। उनका अनुसार एउटा कुरा भने अब नेपाली राजनीतिमा स्थापित हुने देखिएको छ। त्यो हो– अब कसैले पनि राजा र हिन्दु राज्यको मुद्दा अगाडि बढाएर राजनीतिमा स्थापित हुने सोच राखे त्यो पूरा हुँदैन। श्रेष्ठ भन्छन्, ‘अहिले समय निकै अगाडि बढिसकेको छ। गणतन्त्रको मुद्दा र प्रक्रिया धेरै अगाडि पुगिसक्यो। अर्थिक विकासका लागि मान्छे स्वतन्त्रता चाहन्छ। काम गर्न मान्छे गाउँबाट सहर आएको अवस्था छ, तिनलाई स्वतन्त्रता नभइ हुँदैन। त्यसैले यहाँ राजतन्त्र टिक्दैन। विश्वका २८ देशमा राजतन्त्र सीमित छ। र, त्यहाँ पनि राजा भूमिकाविहीन छन्।’ पूर्वराजा र युवराजहरुको कर्तुतका जनताले नभुलेकाले राजसंस्थाको परिकल्पना दिवास्वप्न मात्रै हुने उनको विश्लेषण छ।
निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन्। राप्रपा महाधिवेशनमा निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै उनले त्यसको भत्र्सना गरेका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्र्सना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह,’ उनले ट्विटरमा लेखेका छन्। उनले आफूले उन्मुक्ति पाएको पनि बताएका छन्। ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्,’ उनले अगाडि भनेका छन्।
थापाको यो अभिव्यक्तिबाट राप्रपा राजाबाट पार्टी भएको प्रस्ट हुने राजनीतिक विश्लेषक श्रेष्ठ बताउँछन्। भन्छन्, ‘कमल थापाको कुराबाट के प्रस्ट हुन्छ भने राप्रपा राजाबाट चल्ने पार्टी हो। राजालाई बोकेर राजनीतिमा टिकिँदैन भन्ने पनि सन्देश दिएको छ। सबैले युग सुहाउँदो राजनीति गर्नुपर्छ। आफूलाई श्रीपेच विनाको राजा सम्झिए जोसुकै नेताको कमल थापाकै हालत हुन्छ।’
[caption id="attachment_8970" align="alignnone" width="1333"]
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ[/caption]
को हुन् राजेन्द्र लिङ्देन?, यस्तो छ उनकाे राजनीतिक यात्रा
लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै उनी चर्चामा आएका छन्।
राजेन्द्रले १ हजार ८ सय ४४ मत ल्याएका छन् । थापाले जम्मा १ हजार ६ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।
राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको भनेर राजनीतिज्ञ तथा बौद्धिक वर्ग धेरैले प्रशंसासमेत गरेका छन् । अन्य राजनीतिक दलहरुका कार्यकर्ताहरुले राप्रपाका कार्यकर्ताले जसरी नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा चलेको छ।
आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय छन्। लोकप्रिय लिङ्देन को हुन्?उनको राजनीतिक सुुरुवात कसरी भयो?
लिङ्देनको जन्म वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा भएको थियो । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भयो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने ।
झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बनेका थिए।
२०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।
पिता मानप्रसाद र माता धनकुमारीका छोरा लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् । स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन्।
राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।
राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए। ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएका थिए।




