विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सिद्धान्त लोहनीको नेतृत्वमा कोशी प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष र महिला क्रिकेट टोली छनोट गरिरहेको छ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा विराटनगरमा जारी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता र झापामा सञ्चालन भइरहेको प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताबाट खेलाडी छनोटको काम भइरहेको हो।



बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार पूर्व अन्तर्राष्ट्रिय खेलाडी लोहनीको नेतृत्वमा ताहिर हुसैन र कुन्दन सिंह सम्मिलित छनोट समितिलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्ने जिम्मेवारी दिइएको छ।

लामो समय चोटका कारण खेलबाट टाढा रहेका लोहनीले हालै सक्रिय खेलाडी जीवनबाट सन्यास घोषणा गरेका थिए। प्रदेशमा क्रिकेट खेल र खेलाडीबारे राम्रो जानकारी तथा अनुभव भएकाले उनलाई छनोट समितिको नेतृत्व प्रदान गरिएको घोषले बताए।
‘प्रदेशमा लोहनीजस्ता प्रतिभाशाली र अनुभवी व्यक्तिलाई क्रिकेट खेलको विकासमा जोड्दै लैजानुपर्छ भन्ने योजनाअनुसार जिम्मेवारी प्रदान गरिएको हो,’ घोषले भने, ‘खेलाडीका रूपमा निरन्तरता दिन नसके पनि अन्य विभिन्न भूमिकामा लोहनीको अनुभव नयाँ खेलाडीमाझ साझा गर्ने अवसर बोर्डले निर्माण गर्दै जानेछ।’
लोहनी नेतृत्वको छनोट समितिले विराटनगरमा जारी पुरुष क्रिकेट प्रतियोगितामा सहभागी नौ जिल्ला र झापामा जारी महिला क्रिकेट प्रतियोगितामा सहभागी चार जिल्लाका खेलाडीमध्येबाट कोशी प्रदेशको पुरुष तथा महिला टोली छनोट गर्नेछ। छनोट भएका खेलाडीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।




