
महोत्तरी- भूत, पिशाच, कालो जादु, टुनामुना, बोक्सा बोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोधारमा परेकालाई निको पार्ने भुत मेला शुरु भएको छ ।
वडा दशैँमा अनादिकालदेखि भूत मेलाका लागि प्रख्यात महोत्तरीको सोनामाई मन्दिरमा भूत मेला लागेको छ ।
महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई शक्तिपीठमा परापूर्वका देखि विजया दशमीको दिनसम्म चल्ने भूत मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थी आउन थालेका छन् ।
प्रत्येक वर्ष फुलपातीदेखि विजयादशमीसम्म मेलामा भूत-प्रेत, बोक्सा बोक्सी र मृत दुष्ट आत्माले सताइएका पीडित आउने र सोनामाईको कृपाले निको भएर जाने जनविश्वास रहेको मन्दिरका पुजारी कामेश्वर झाले बताए ।
मन्दिरको सीमा क्षेत्रमा आउने बित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दै-पड्दै, रुँदै-हाँस्दै आफैँ बाेल्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको अर्का पुजारी झगरु झाले बताए ।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सप्तरी रौतहट, सुनसरी, मोरङ काठमाडौँदेखि सिमावर्ती भारतका सीतामढी, मधुवनी र पटनासम्मका मृत दुष्ट आत्मबाट सताईएका पीडित महिला तथा पुरुषहरु दुःख निवारणका लागि आउने गरेको पुजारी झाले बताए ।

सोनामाई शक्ति पीठमा धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने, २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए । सोनामाईमा भूत मेलामा आत्माले सताइएका आउँछन र निको भएर जाने जनविश्वास रहेको छ। यो परापूर्वकालदेखि नै चल्दै आएको मान्यता हो ।
मेलामा एकैदिन हजारौं बोकाको बलि चढाईने साथै केयाै संख्यामा रागांको बलि समेत चढाईछन् । सोनामाई मन्दिरमा ३ सय ६५ दिन नै बोकाको बलि चढाईन्छ । सामान्य दिनको तुलनामा सप्तमीदेखि विजया दशमीसम्म बढी बलि चढाउने गरिएको सहायक पुजारी अरुण झाले बताए ।

सोनामाईको असिम कृपाले निको भएर गएका भारत मधुवनी हिंसार बरहीकाकिरण देवी महतोले आफ्नो दुःख निवारण भएपछि भाकल गरेको बोका बलि चढाउन आएको बताईन् ।
माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ ।

