धनुषा- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले जनकपुरमै भएको महाधिवेशनबाट नै बिपी कोइराला प्रथम पटक पार्टी सभापति भएको र आफू पनि यही धनुषा र जनकपुरवासी भएको हुँदा सभापतिमा बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
धनुषाको निर्वाचन क्षेत्र ४ को महेन्द्रनगरमा आयोजित बडा दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले प्रदेश २ का ८ वटै जिल्ला धार्मिक महत्व र देवीदेवताको देवभूमि भएको हुँदा आफूलाई सबैको आशीर्वादले सभापति बन्न सहयोग पुग्ने बताउनुभयो ।
निधीले भन्नुभयो, ‘मैले पार्टी सभापतिमा लड्नेबारे सबैभन्दा पहिले शेरबहादुर देउवाजीसँगै सल्लाह गरेको थिएँ।’ उहाँले आफूले पार्टीमा प्रकाशमान सिंह, शेखर कोइराला लगायत सबैसँग १४औं महाधिवेशनमा सभापतिमा आफूले उम्मेदवारी दिने र सहयोग गर्न अनुरोध गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘मसँग पार्टी सभापति बाहेक अरू पदको विकल्प नै छैन। कांग्रेसको ११औं देखि १३औं अधिवेशन सम्ममा मैले सबैलाई सहयोग गरेकोले यस पटक मलाई सबैले सहयोग गर्छन्।’
निधीले १३औं महाधिवेशनमा त देउवाजीले त ‘यसपछि तपाईंको पालो भनेर खुला रूपमै घोषणा गर्नुभएकोले उहाँले पनि सभापतिमा मलाई सहयोग गर्नेमा आफू विश्वस्त’ भएको बताउनुभयो।
उहाँले यसपछिको पालो युवा पुस्ताको भएको बताउँदै १५औं महाधिवेशनमा गगन थापा, विश्वप्रकाशको दाबी हुने भएकोले यसपटक सहयोग गर्न सबै नेता कार्यकर्तासँग आग्रह गर्नुभयो।
निधीले पार्टीको नगर अधिवेशनमा सर्वसम्मत निणर्य गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘प्रदेश २ का जिल्ला सहित सबै जिल्लाको क्रियाशील सदस्य फाइनल भइसकेकोले २/४ दिनमै अधिवेशनको तालिका सार्वजनिक हुने र अधिवेशनमा सबैपदमा सर्वसम्मतिले चयन होस् भन्ने चाहना छ।’
उहाँले यस निर्वाचन क्षेत्रबाट आफूले सतप्रतिशत सभापतिमा मत पाउने विश्वास व्यक्त गर्नुभयो । निधीले यस क्षेत्रका नेता कार्यकर्ताहरूलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
निधिले देशका जनताले नेपाली काँग्रेसको एकलौटी सरकार खोजिरहेको बताउँदै उहाँले अहिलेको जस्तो बैशाखीमा टेकेको सरकार नभई नेपाली काँग्रेसको बहुमतको एकलौटी सरकार खोजिरहेको भन्नुभयो ।
उहाँले कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो,‘देशलाई काँग्रेस चाहिएको छ, काँग्रेसको सरकार चाहिएको छ , गठबन्धनको सरकार होइन् । जबसम्म एकलौटी सरकार बन्दैन तबसम्म देश अपेक्षा अनुसार गति लिन नसक्ने भन्दै यदि देशलाई काँग्रेस चाहिन्छ भने मधेसको भूमिका महत्वपूणर् हुने दाबी गर्नुभयो ।’
उहाँले गत निर्वाचनमा नेपाली काँग्रेस बाहेकका पार्टीलाई जिताउँदा त्यसको दुष्परिणाम देश र नेपाली जनताले भोगिरहेका बताउँदै राज्य र सरकारका अंगहरू न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका अस्तव्यस्त र क्षतिग्रस्त भएको औंल्याउनुभयो ।
पछिल्लो निर्वाचनबाट देशमा अर्कै पार्टीको सरकार बन्दा जनताको दैनिक जीवन दुष्कर बनेको स्पष्ट पार्दै महँगी बढेको र समग्रमा देशकै आर्थिक स्थिति बिग्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेका युवा पुस्ता निराशामा छन् । राज्यका अंग, राजनीति र रोजगारका क्षेत्रमा अवसर पाउन सकेका छैनन् ।’
क्षेत्रीय सभापति एवं क्षिरेश्वरनाथ नगरपालिकाको मेयर योगेन्द्र पजियारले अध्यक्षता गरेको यस कार्यक्रममा केन्द्रीय सदस्य महेन्द्र यादव , राम कृष्ण यादव , प्रदेश २ को भौतिक तथा पुर्वाधार मन्त्री राम सरोज यादव लगायत संघीय सान्सद, प्रदेश सान्सद , जिल्ला कमिटी, क्षेत्र कमिटी,पालिका कमिटी वार्ड कमिटी ,निर्वाचित जनप्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।