जनकपुरधाम - धनुषाको बटेश्वर गाउपालिका ५ शान्तिपुरमा आयोजित दुर्गा मेलामा खुलेयाम जुवातास भइरहेको छ ।
वडादशैंको अवसरमा लागेको दुर्गा मेलामा विगत एक सातादेखि जुवातास चल्दैछ । जुवा खेलाउन टेन्ट नै लगाएको छ । रातभर जुवातास चल्ने गरेको स्थानीय बताउछन् । अचम्म त के भने प्रहरी नै जुवाडेको संरक्षण गरिरहेका छन् ।
उक्त मेलामा जुवातास खेल्न जनकपुर र अन्य ठाउका जुवाडे पनि पुग्छन् । एक रातमा कोही लाखौं रुपैया हार्छन् त कोही लाखौं रुपैया जित्छन् ।
स्रोतका अनुसार जुवा खालबाट प्रहरी पनि कमिशन पाइरहेका छन्, त्यसैले प्रहरी मुकदर्शक बन्छन् । शान्तिपुरको दुर्गा मेलालाई 'जुवा मेला' पनि भन्ने गरिन्छ । हरेक वर्ष यहाँ जुवा खेलाइन्छ । जुवा आयोजना गर्नेहरु 'बाउन्सर' समेत राखेका छन् । जुवातास खेलिरहेको दृष्य मोवाइल वा क्यामेरामा कैद गर्न रोक लगाइएको छ । स्थानीयका अनुसार कसैले दृष्य कैद गरेका थाहा पाए बाउन्सरले मोवाइल वा क्यामेरा खोस्छन् ।
धार्मिक मेलामा खुल्ला मदिराको अबैध कारोबार समेत भइरहेको छ । प्रशासनले 'आरकेस्ट्रा' प्रोग्राममा प्रतिबन्ध लगाएको छ । तर यहां दर्जनौं केटीलाई ल्याएर 'आरकेस्ट्रा' प्रोग्राम गर्छ ।
मदिरा सेवन गरेर जुवाडेहरु रातभर जुवातास खेल्ने गरेको स्थानीयको भनाई छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली मेलामा सुरक्षार्थ खटेका छन् ।
मेलामा केटाहरुबीच लफडा हुंदा बिहिबार राति महेन्द्रनगरका इन्सपेक्टर तिलक सुनार आफै पुगेका थिए । तर चलिरहेको जुवातास देखेपनि नदेखेझैं गरेर फर्किएका थिए ।
इन्सपेक्टर सुनारले मेलामा जुवातास भइरहेको कुरा गलत रहेको दावी गरे । उनले भने, 'तपाईलाई कसैले गलत भन्यो । म अहिले पनि मेला मै छु । जुवातास चल्दैन् ।'




