महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दुईसय बढी नेता कार्यकर्ता आज जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् ।
शनिवार महोत्तरीको गौशाला नगरपालिका—१ रामगरमा आयोजित दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुईसय भन्दा बढीको संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरुले जसपा रोजेका हुन् ।नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी नागेन्द्र यादव र अर्का केन्द्रीय सदस्य लक्ष्मी महतो, रामकुमारी देवी र रमेश महतोले फुलमाला तथा अविर लगाई पार्टीमा स्वागत गरेका थिए ।कार्यक्रममा बोल्दै जसपाका सांसद कौशल कुमार यादवले संघीयता, सुशासन र मधेशीहरुको हक अधिकारको लागि जनता समाजवादी पार्टीको ठुलो योगदान रहेको बताए । मधेशीको माग पुरा नभएसम्म आन्दोलन जारी रहने कार्यक्रमका प्रमुख अतिथी नागेन्द्र यादवले बताए ।पार्टीका स्थानीय नेता महेन्द्र महतोको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेशसभा सदस्यका प्रत्यासी विनाद महतो,नगरसमिति अध्यक्ष कुमार कान्त झा, संघीय समाजवादी खेलकुद महासंघको प्रदेश दुईको मुख्य सचिव संजिप चौधरी, युवा नेता श्याम मण्डल, देबु महतोलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।