जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराईबासी बीचको भावनात्मक सम्बन्धलाई जोड्नका लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
आइतबार धनुषा निर्वाचन क्षेत्र नम्बर १ को धनुषाधाममा विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै निधिले हिमाल र पहाडका साथीहरुले नेपाली कांग्रेसको सभापतिमा आफूलाई हेर्न चाहि रहेको बताए ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न उनले आग्रह समेत गरे । निधिले भने, ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छु । सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईंहरुको समर्थन चाहेको हुँ ।’
उनले कांग्रेसलाई नयाँ अवस्थामा ल्याउन सभापतिमा उम्मेदवारीको घोषणा गरेको बताए । ‘पुरानो होइन कांग्रेसलाई म नयाँ अवस्थामा ल्याउन चाहेको छु । संघीयता र गणतन्त्रको रक्षा गर्नसक्ने कांग्रेस बनाउन चाहेको छु । देशमा कांग्रेसको सरकार बनाउन चाहेकोले सभापति बन्न चाहेको छु,’ निधिले भने ।
बिपी कोइरालाले २४ वर्षकै उमेरमा आफूलाई नेविसंघको केन्द्रीय सभापति बनाएको स्मरण गर्दै निधिले बिपीको त्यो विश्वासलाई डगमगाउन नदिएको दाबी गरे ।