जनकपुरधाम- आइतवार देखि परेको बेमौसमी अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । लगातारकाे वर्षाले उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।




जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ ।
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।

जनकपुरका अधिकांश पसल तथा गोदामहरुमा पानी छिर्दा करोडौँ मूल्य बराबरको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानमा क्षति पुगेकाे छ ।

पानी पसेर शिव चोक स्थित अनित इम्पोरियमका सञ्चालक गुडु सुल्तानियाका अनुसार उनको तथा उनका काका पशुपति सुल्तानियाको इलेक्ट्रोनिक्स पसल तथा गोदाममा पानी छिर्दा लाखौँ मूल्य बरावरको वासिंग मेसिन, टेलिभिजन, एसी लगायतका सर सामानमा क्षति पुगेकाे छ ।

त्यसैगरी शिव चोक मै रहेको नवरङ होटेल भित्र पानी छिर्दा स्टोर गरेर राखेको चामल, दाल, तरकारी जस्ता सामान नष्ट हुनुको साथै फ्रिजहरुमा समेत पानी पसेर क्षति पुगेको छ।
एसियन विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास आयोजना अन्तर्गत एक अर्बको लगानीमा दुई वर्ष अघि मात्र तयार भएको अन्डरग्राउन्ड ढल भएर पानी पास हुन नसक्दा नगर क्षेत्र डुबानमा परेको हो ।
एशियाली विकास बैंकको एकीकृत शहरी विकास आयोजनाद्वारा नगरमा गरिएको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । बस्तीहरू समेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन् ।
यद्यपि अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्याङ्क सङ्कलन काम भइरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाट जानकारी दिए ।




