काठमाडौं - सरकारले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ। बुधबार मन्त्रिपरिषद्को बैठकले बाढी-पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।
बैठकले परिवारको एकजना मात्रै ज्यान गुमाएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिए।
तामाङका अनुसार बाढीपहिरोमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्नेछ। त्यस्तै, मन्त्रिपरिषद् बैठकले बाढी तथा पहिरोका कारण विद्युत्,सञ्चार अवरुद्ध भएका स्थानमा उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको तामाङले बताए।
त्यस्तै, मौसमले साथ दिए प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश र पूर्वका बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने भएका छन्।
‘बाढीपहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने निर्णय भएको छ। त्यसका साथै पुनर्स्थापना र आवास निर्माणका विषयमा पनि छलफल भइरहेको छ। केन्द्र सरकारसँगै स्थानीय सरकार जिल्ला समन्वय समितिले राहत उद्धार कार्य गर्दै आएको उनले बताए।