जनकपुरधाम – मधेश प्रदेशको महोत्तरी जिल्ला महोत्तरी निर्वाचन क्षेत्र २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक कुमार साह अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका वरिष्ठ नेता वालेन्द्र साहको नेतृत्वमा रहेको संघीय सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्।
राेचक कुरा के छ भने, उनले यही मन्त्रालय सम्हालिरहेका अनुभवी नेता शरतसिंह भण्डारीलाई निर्वाचनमै पराजित गरेर आफू नै सो मन्त्रालयको नेतृत्वमा पुगेका हुन्। पहिलै प्रयासमा १९ औँ पटक मन्त्री भइसकको भण्डारीलाई उनले हराउँदा एकाएक चर्चामा आएका थिए ।



२०४७ चैत १० मा महोत्तरीको महोत्तरी गाउँपालिका ०६ को गोरगामा गाउँमा जन्मिएका साह स्वास्थ्य क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका नयाँ अनुहार हुन्। जनस्वास्थ्य विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानबाट शिक्षा हासिल गरेका छन्।
शैक्षिक रूपमा सुदृढ पृष्ठभूमि बनाएका साहले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र एफएचआई ३६० जस्ता अन्तर्राष्ट्रिय संस्थामा काम गर्दै सार्वजनिक स्वास्थ्य तथा विकास क्षेत्रमा अनुभवसमेत बटुलेका छन्। बुबाको रामकृपाल साह पनि स्वास्थ्यका पूर्व कर्मचारी हुन् । बुबाको पेसाबाट प्रेरित उनी स्वास्थ्य पेसालाई नै मुख्य कर्मको रुपमा अघि बढाइरहे ।
राजनीतिक रुपमा अनुभवहिन उनी राजनीतिमा प्रवेश गर्दा उनले स्वास्थ्य सेवा सुधार, युवा स्वरोजगारको विस्तार र भ्रष्टाचारमुक्त प्रशासन निर्माणलाई मुख्य एजेन्डाका रुपमा निर्वाचनमा अघि सरे ।
गाउँठाउँका समस्या नजिकबाट बुझेका र माटोसँग जोडिएका उम्मेदवारका रूपमा मतदातामाझ प्रस्तुत भएका साहलाई जनताले विश्वास गरे । परिणामस्वरूप, पहिलो पटक चुनाव लड्दै उनले स्थापित राजनीतिक शक्तिलाई चुनौती दिँदै उल्लेखनीय जित निकाले।
गत प्रतिनिधिसभा निर्वाचनमा साहले ३२ हजार ७२२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (नेपाल) का वरिष्ठ नेता तथा पटक–पटक मन्त्री भइसकेका शरतसिंह भण्डारीले १० हजार १९८ मतमा सीमित हुनुपरेको थियो।
त्यस्तै नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५, एमालेका कासिम नदाफले ३ हजार ५२४, नेकपाका लक्ष्मणकुमार यादवले ७३७ र जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत प्राप्त गरेका थिए।
प्रत्यक्ष राजनीतिक अनुभव नभए पनि विषयविज्ञता र नयाँ सोचका कारण साहले छोटो समयमा नै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति देखाएका छन्। पुराना र स्थापित नेताहरूलाई चुनौती दिँदै उदीयमान पुस्ताको प्रतिनिधित्व गर्ने पात्रका रूपमा उनी उभिएका छन्।
अहिले श्रम मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले आफ्ना चुनावी प्रतिबद्धताहरू व्यवहारमा उतार्ने अवसर पाएका छन्। वेरोजगारीको समस्याले ग्रसित मधेशले उनी मन्त्रीपछि सुधार हुने अपेक्षामा छन् ।-नेपाल प्रेस




