काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । तर, नेपालका सञ्चारमाध्यम भने सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि र आन्दोलित अवस्थामा देखिएका छन् । प्रेस स्वतन्त्रताको महत्त्व र लोकतान्त्रिक मूल्यमान्यतामाथि चर्चा भइरहेका बेला सरकारले सरकारी विज्ञापन रोक्ने निर्णय गरेपछि सञ्चार क्षेत्रले त्यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेपका रूपमा व्याख्या गरेको छ ।
विज्ञापन नै मुख्य आयस्रोत बनेका अधिकांश सञ्चार संस्थाहरू आर्थिक संकटतर्फ धकेलिन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । यस्तो संवेदनशील अवस्थामा आएको यो निर्णयले प्रेस स्वतन्त्रताको वास्तविक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ र सञ्चारमाध्यमहरू आफ्नो अस्तित्व र स्वतन्त्रताको रक्षा गर्न एकजुट भएर आन्दोलनतर्फ उन्मुख भएका छन् ।
आज (आइतबार) ३३औँ विश्व प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रमबीच मनाइँदै छ । ‘शान्तिपूर्ण भविष्यको निर्माण मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको हो ।



सन् १९९३ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जलि दिन मनाइने मिति हो । सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको २६औँ सत्रमा अनुमोदन गरिएको सिफारिशपछि सन् १९९३ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो । यो सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिवस पनि हो । वर्ष २०२६ को मे ३ मा संयुक्त राष्ट्रसंघको महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३४ वर्ष पूरा हुँदै छ । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । त्यस्तै, महत्त्वपूर्ण रूपमा, विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रताको संयम वा उन्मूलनका लागि लक्षित मिडियालाई समर्थन गर्ने दिन हो । विश्व प्रेस स्वतन्त्रता दिवस २०२६ ले नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक सरोकारवालाहरूलाई यी मुद्दाहरूको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता र गोपनीयतामा बढेको निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न ठोस समाधानहरू विकास गर्न बल पुग्नेछ ।
यस्तो छ प्रेस स्वतन्त्रताको अवस्था
‘रिपोटर विथआउट बोडरस’नामक अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२६ मा सबैभन्दा बढी प्रेस स्वतन्त्रता नर्वेमा ९२.७२ प्रतिशतले रहेको छ भने बेलायत ७९.४५ प्रतिशतले १८ स्थानमा रहेको छ । त्यस्तै, जापान ६२.९० प्रतिशतले ६२ स्थानमा छ । अमेरिका ६२.६१ प्रतिशतले ६७ स्थानमा छ । नेपाल ५४.८० प्रतिशतले ८७ स्थानमा रहेको छ भने पाकिस्तान ३२.६१ प्रतिशतले १५३ स्थानमा छ । भारत ३१.९६ प्रतिशतले १५७ स्थानमा छ । इरान १७.४५ प्रतिशतले १७७ स्थानमा छ भने सबैभन्दा कम १२.६७ प्रतिशतले १७९ स्थानमा उत्तर कोरिया रहेको छ ।
सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन युनियनको माग
नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यमलाई दिइँदै आएको सरकारी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । युनियनले सरकारको विज्ञापन नीतिले स्वतन्त्र सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बनाउने निष्कर्ष निकालेको हो । विज्ञापनको न्यायोचित वितरण, सञ्चारमाध्यमको दिगोपना र पत्रकारको रोजगारी सुरक्षाका लागि स्पष्ट नीति निर्माण गर्न युनियनले सरकारसँग माग गरेको छ । पछिल्लो समयमा विकसित डिजिटल युगका चुनौतीलाई सम्बोधन गर्न युनियनले एआई, सामाजिक सञ्जाल र डिजिटल मिडियाको जिम्मेवार प्रयोगका लागि मापदण्ड विकास गर्ने, पत्रकारहरूलाई डिजिटल सीपसम्बन्धी तालिम दिने र मिस-इन्फर्मेसन नियन्त्रणका लागि तथ्य–जाँच प्रणाली सुदृढ गर्ने भएको छ । युनियनले आगामी जेठ १३ गते काठमाडौंमा विधान सभा आयोजना गर्ने निर्णय पनि गरेको छ । साथै आफ्नो विधानलाई समयसापेक्ष र समावेशी बनाउन संशोधन प्रक्रिया अघि बढाउने, विधान मस्यौदामाथि जिल्ला र प्रदेश तहमा छलफल गरी स्थापना दिवसको अवसरमा विधानसभा गर्ने निर्णय गरेको प्रेस युनियनले जनाएको छ । युनियनले संगठनलाई थप प्रभावकारी बनाउँदै पत्रकारहरूको हक-हित संरक्षणमा सक्रिय भूमिका खेल्ने, प्रेस युनियनको पत्रकार कल्याणकारी कोषलाई थप सुदृढ र पारदर्शी बनाउने निर्णयसमेत गरेको छ । यस्तै, नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस स्वतन्त्रता ऐक्यबद्धता प्रभातफेरी आयोजना गर्ने भएको छ ।




