जनकपुरधाम। प्रदेश २ को राजधानीका लागि पहिले मतदान हुने भएको छ । आज ११ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक डेढ दुई घण्टा ढिलो गरि भरखर सुरु भएको छ।
अहिले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठन भएको समितिको प्रतिवेदनमा आइतवार देखि सुरु भएको छलफल जारी रहेको छ।



छलफल पश्चात मतदान हुने कार्यसूची रहेको छ । प्रदेशसभा कार्यसूची अनुसार पहिले राजधानी र त्यसपछि नामका लागि मतदान हुनेछ ।
आजको प्रदेशसभा र्बैठकमा प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी सिंगासन साह कलवारले प्रदेशको राजधानी विरगंज (पोखरिया न.पा., सखुवा प्रसौनी गा.पा., पर्सागढी न.पा., जितपुर सिमरा निजगढ हुदै सिम्रौनगढ) तोक्ने प्रस्ताव पेश गर्नेछन् ।
त्यस्तै राजेश्वर प्रसाद साहले प्रदेशको राजधानी बिरगंज (विरगंज महानगरपालिका) तोक्ने प्रस्ताव पारित गराउन पेश गर्ने प्रदेशसभाका सचिव रंजित कुमार यादवले जानकारी दिए ।
राजधानी पश्चात शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन शैलेन्द्र कुमार यादवले पेश गर्नेछन् ।
प्रमोद कुमार यादवले प्रदेशको नामकरण जानकी प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् ।
त्यस्तै शिवचन्द्र चौधरीले प्रदेशको नामकरण मिथिला भोजपुरा कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् भने राजेश्वर प्रसाद शाले प्रदेशको नामकरण मध्य मधेश प्रदेश कायम गर्ने प्रस्ताव पारित गराउन प्रस्ताव पेश गर्नेछन् ।
पत्रकारलाई समाचार संकलन गर्न परिसरभित्र प्रवेश निषेध
प्रदेश २ को नाम र राजधानीको लागि भइरहेको मतदानको समाचार संकलन गर्न पत्रकारलाई परिसरभित्र प्रवेशमा निषेध गरिएको छ।
सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच अफ गरेका छन्।
कोरोनाको जोखिम रहेकाले प्रदेश सभा परिसरमा समेत प्रवेश गर्न पत्रकारलाई रोक लगाइएको बताइएको छ ।





