महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाले अतिक्रमणमा परेको सरकारी जग्गा खाली गराई सार्वजनिक प्रयोजनमा उपयोग गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन सरकारसँग माग गरेको छ ।
नगर प्रमुख डा. दीपेन्द्र महतोले हस्ताक्षर गर्नुभएको यससम्बन्धी पत्र नगरपालिकाले शुक्रबार सार्वजनिक गर्दै सरकारी जग्गा अतिक्रमणमुक्त गराउन सुरक्षा सहयोग माग गरेको हो ।



नगरपालिकाका अनुसार गौशाला नगरपालिका–५ स्थित नेपाल सरकारको नाममा दर्ता रहेको साविक शिवभक्तिखोर गाविस–१, कित्ता नम्बर ११५ को पाँच बिघा तीन कट्ठा पाँच धुर जग्गा लामो समयदेखि विभिन्न व्यक्तिले अतिक्रमण गरी बसोबास गर्दै आएका छन् ।
उक्त जग्गामा बाल उद्यान निर्माण तथा हटबजार व्यवस्थापन गर्ने नगरपालिकाको योजना छ । सार्वजनिक प्रयोजनका लागि आवश्यक जग्गा खाली गराउन पटक–पटक सूचना जारी गर्दा पनि अतिक्रमण गरी बसेका व्यक्तिले जग्गा खाली गर्न अटेर गर्दै आएको नगरपालिकाले जनाएको छ ।
जग्गाको स्वामित्वसम्बन्धी विवादमा अतिक्रमणकारी पक्षबाट उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतमा रिट निवेदनसमेत दायर भएको थियो । नगरपालिकाले सार्वजनिक गरेको पत्रअनुसार सर्वोच्च अदालतमा मुद्दा नम्बर ०८०-CI-११७२ र उच्च अदालत जनकपुरधाममा उत्प्रेषण मिश्रित प्रतिषेधसम्बन्धी मुद्दा नम्बर ०८२-WO-१२३५ दायर भएको थियो । दुवै अदालतबाट सम्बन्धित रिट निवेदन खारेज भइसकेको नगरपालिकाको दाबी छ ।
नगर प्रमुख महतोले सरकारी जग्गा सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षण र सदुपयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभएको छ । उक्त जग्गालाई अतिक्रमणमुक्त गरी बाल उद्यान निर्माण र हटबजार व्यवस्थापन गर्ने योजना कार्यान्वयनका लागि सुरक्षा सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
नगरपालिकाले अतिक्रमित जग्गा खाली गराउने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय महोत्तरी र प्रहरी प्रधान कार्यालयलगायतका निकायमा पटक–पटक पत्राचार गरेको जनाएको छ । तर, हालसम्म ती निकायबाट आवश्यक सुरक्षा प्रबन्ध उपलब्ध हुन नसकेको नगर प्रमुखद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
नगरपालिकाले सुरक्षा निकायको सहयोग प्राप्त भएमा जग्गा खाली गराउने प्रक्रिया अघि बढाउने जनाएको छ । अतिक्रमणमुक्त भएपछि उक्त स्थानमा बाल उद्यान निर्माण गरी नगरवासीका लागि सार्वजनिक मनोरञ्जनस्थल उपलब्ध गराउनुका साथै हटबजारलाई व्यवस्थित बनाउन सकिने नगरपालिकाको अपेक्षा छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्ने उद्देश्यले अघि सारिएको योजनालाई कार्यान्वयन गर्न सम्बन्धित निकायले आवश्यक सुरक्षा सहयोग उपलब्ध गराउनुपर्ने नगरपालिकाको माग छ ।





