धनुषा। खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ताहरु मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।
बिहीबार दिउँसो दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेता कार्यकर्ताहरुले गुण्डाशैलीमा नेपाल खानेपानी कार्यालय जनकपुरधामका प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । लाठी, भाटा सहित कार्यालय पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले प्रमुखलाई जबरजस्ती कार्यालयबाट थुतेर बाहिर ल्याई कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा कुटपीट गर्दै घुमाएको थिए ।
निमित प्रमुख कुशवाहालाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोपमा जनमत पार्टीका १७ जना नेता÷कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल विरूद्ध मुद्दा दर्ता गरिएको छ।
डीएसपी बस्नेत उनीहरू विरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो। उनले भने, ‘यस मुद्दामा क्षतिपूर्ति सहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।’
बाँकी पक्राउ गरिएका ४५ जनालाई बिहीबार अबेर राति हिरासमुक्त गरिएको थियो।
यता मुद्दा दर्ताको विरोधमा पार्टीका अध्यक्ष राउतको निर्देशनमा उनका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरेका छन्।