धनुषा- एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनु भएको छ।
नेपाली काँग्रेसको प्रदेश २ अधिवेशनको लागिको जनकपुधाम आउनु भएको गृहमन्त्री खाँणले मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभयो ।
उहाँले देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पार्नुभयो ।
सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उहाँको भनाइ छ।
एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल चलिरहेको उल्लेख गर्दै उहाँले छलफलबाट निष्कर्ष निस्किने र अगाडि बढ्ने बताउनुभयो ।
गृहमन्त्री खाँणले भन्नुभयो, “एमसीसीबारे केही भ्रम पनि होलान्। यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ। यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिशन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो। र त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो। यो निःशर्त अनुदान हो। एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो। दलहरूबीच छलफल भइराख्या छ। छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ।”