महोत्तरी - पोखरामा भएको यति विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा महोत्तरीको बर्दिवास र औरहीमा दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। 'सबैका लागि हामी' भन्ने युवाहरूको समुहले बर्दिवासको मुख्य चोकमा मैनबत्ती प्रज्वलन गरि एक मिनेट मौन धारण गर्दै मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सबैका लागि हामी समुहका अध्यक्ष सुनिल कुमार साहले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्न दिप प्रज्वलन गरिएको बताए । "पोखरा विमान दुर्घटनाले हामी मर्माहत छौँ" दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रती भावपुर्ण श्रद्धाञ्जली लेखिएको ब्यानर सहित बर्दिवासवासीले चिर शान्तिको कामना गरेका हुन् । घाइतेको स्वास्थ लाभको कामना र परिवारमा समवेदना समेत ब्यक्त गरिएको अध्यक्ष साहले बताए । श्रद्धाञ्जली सभामा बर्दिवासका स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान पोखरा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिक सेती नदि खोचंमा दुखटनाग्रस्त भएको हो । दुर्घटनामा परि ज्यान गुमाएका ६८ जनाको शव फेला परिसकेको छ । चालकदलका ४ सदस्य सहित विमानमा ७२ जना यात्रु सवार थिए ।

त्यसैगरी औरही उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण चौधरी लगायत संघका पद अधिकारी,औरही यूथ फोर्स क्लबका युवाहरु लगायत औरहीका स्थानियहरु श्रद्धाञ्जली सभामा सहभागी थिए । औरही बजारको मुख्य चौकमा मैनबत्ती प्रज्वलन गरि एक मिनेट मौन धारण गर्दै मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गरिएको हो ।

















