जनकपुरधाम- धनुषा छोरा र प्रहरी हबल्दार रहेको ज्वाइँले एक व्यक्तिको सुपारी दिएर हत्या गराएको घटना सार्वजनिक भएको छ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ का धनुखधारी दासको गत पुस ९ गते साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
५० वर्षीय मोटर मिस्त्री दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेका छ।
दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका जेठा छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
दासको हत्यामा संलग्न रहेको आरोपमा दासका २१ वर्षीय छोरा प्रदीप दास, महोत्तरीको पिपरा गाँउपालिका वडा नम्बर-५ सहोडवा बस्ने प्रहरी प्रधान कार्यालय सवारी महाशाखा प्राविधिक नक्शालमा दरवन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्रहरी हवल्दार पदमा कार्यरत ३४ वर्षीय ज्वाइँ उदय दास र नगराइन नगरपालिका-२ जटहीका सुपारी किलर सुटर २१ वर्षीय रञ्जित यादवलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले आरोपी तीनैजनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको जानकारी दिए । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले हत्यामा संलग्न भएकालाई पक्राउ गरेको हो ।घटनामा संलग्न अन्य व्यक्तिहरु अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको जानकारी एसपी खड्काले बताए ।
घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए।
बुवाले दोस्रो विवाह गरेको र दोस्रो श्रीमतीबाट छोरी जन्मेपछि सम्पत्ति बाँडिने भएपछि जेठी श्रीमतीको छोरा र ज्वाइँले ५ लाख भारतीय रुपैयाँमा हत्या गराउने योजना बनाएको प्रहरीले जनाएको छ ।
छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको कुरा अनुसन्धानको क्रममा खुलेको एसपी खड्काले जानकारी दिए।
धनुक दासलाई गोली प्रहार गरी हत्या भएको ३ दिनपछि उदयले गोली प्रहार गर्ने रञ्जितलाई ५ लाखमध्येको ३ लाख रुपैयाँ दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
यसरी गरियो दासको हत्या
गत पुस ९ गते साँझ करिब सवा ७ बजे धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-२ बस्ने ५० वर्षीय धनुखधारी दासलाई आफ्नै घरको बरन्डामा बिग्रीएको दमकल बनाइरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा सवार भई आएका दुईजना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी फरार भएका थिए ।
गोली लागि गम्भिर घाइते दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा मृत्यु भएको थियो ।
घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अनुसन्धान टोलीले घटनाको बारेमा बुझ्दा मृतक धनुखधारी दासको दुईवटा विवाह भएको तथा छोराछोरीसँग समेत राम्रो सम्बन्ध नरहेको बुझिएको थियो ।
त्यसपछि दासका जेठो छोरा प्रदिप दासले प्रयोग गर्ने मोटरसाइकल सो घटनामा प्रयोग भएको कुरा प्रहरीले पत्ता लगायो ।
दासका छोरा प्रदीप दासले प्रयोग गर्ने भनिएको मोटरसाइकल तथा घटनामा संलग्न रहेको व्यक्तिहरुको बारेमा अनुसन्धान गर्ने क्रममा प्राविधिक विश्लेषणको सहयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरि उनीहरूलाई खोजतलाश गर्ने क्रममा पुस १९ गते दिउँसो ३ बजेको समयमा धनुषाको नगराइन नगरपालिका वडा नम्बर-२ जटही बस्ने २१ वर्षीय रञ्जित कुमार यादवलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१२ स्थित सिक्सलेन बाटोमा जटही-जनकपुर चल्ने बसबाट नियन्त्रणमा लिइयो ।
धनुखधारी दासको हत्या गर्नका लागि उनका जेठा छोरा प्रदिप दासले २/३ महिना अगाडी नै रञ्जितसँग सम्पर्क गरी बुवाको हत्या गर्न भन्दै आएको र उनको हत्या गरे वापत पाँच लाख रुपैयाँ दिने सहमति भएको थियो । घटना हुनु भन्दा करिव एक महिना अगाडी रञ्जितलाई एकलाख रुपैयाँ एडभान्स समेत दिइएको थियो ।
रञ्जितले पेस्तोल १ नाल, सोमा लाग्ने गोली २ राउण्ड, अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागजीन २ थान, भारतबाट कटुवा पेस्तोल र सोको गोली ८ राउण्ड समेत लिई कोठामा राखेका थिए ।




