जनकपुरधाम- मधेश प्रदेशको प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फवाट प्रस्तुत गर्ने अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई मधेश प्रदेश सरकारले स्वीकृत गरेको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा शनिबार सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता एवम अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए।



मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारले पाँच वर्षे कार्यकालको अन्तिम पटक नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको छ ।
प्रदेश सरकारले यस पटकको नीति तथा कार्यक्रममा यसअघि सञ्चालित महत्वकांक्षी कार्यक्रमलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रमलाई समेत समावेश गरेको बताइएको छ । मधेश प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत सञ्चालित केही कार्यक्रमलाई यस वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।
विगत चार वर्षको अनुभवकासाथ आगामी वर्षका लागि यस वर्ष मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउनुअघि विभिन्न पक्ष र विज्ञहरुसँग छलफल गरी ल्याउन लागेको जानकारी दिए ।
मन्त्री परिषदबाट स्वकिृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते आइतबार दिउँसो प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रममाथि छलफल भइसकेपछि सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गर्नेछ ।




