जनकपुरधाम - जनकपुर बम काण्डमा पूर्वराज्यमन्त्री संजय साह उच्च अदालत जनकपुरबाट फेरी राहत पाएका छन् । ज्यान मार्ने षडयन्त्र मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकैद फैसला सुनाएकोमा उच्च अदालत जनकपुरले सोमवार मात्र ११ वर्ष हुने फैसला सुनाएको छ ।
जन्मकैदमा २० वर्ष सजायको व्यवस्था छ । तर उच्च अदालत जनकपुरले ९ वर्ष कम गरेर मात्र ११ बर्षको फैसला सुनाएपछि साहलाई राहत मिलेको हो ।
विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले साेमबार पूर्वराज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो । यसअघि जिल्ला अदालत धनुषाले साहलाई २०७५ सालमा मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।
यसअघि असोज १७ मा उच्च अदालतले जनकपुर ब’मकाण्डकै अर्को ज्यान मा’र्ने मुद्दामा साहलाई ७ वर्ष कैद सजाय सुनाएको थियो । सो मुद्दामा जिल्ला अदालतले १२ वर्षको सजाय सुनाएको थियो ।
२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । जसमा परी ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । । सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मु’द्दा चलाइएको थियो ।
साह हाल काठमाडौंको नक्खु कारागारमा कै’द भुक्तान गरिरहेका छन् ।उनी धनुषा क्षेत्र नम्बर–३ बाट संविधानसभाको दुवै निर्वाचनमा जित हासिल गरेका थिए । पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरिएको थियो ।
डनबाट राजनीति यात्रा यसरी गरेका थिए साह?
कुनै समय जनकपुरधाममा ‘संजय टकला’ नामले डनका रूपमा परिचित साहले कबाडी ठेक्काबाट मनग्य आम्दानी गरी संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए ।
साबिक लोहना गाविस र हाल जनकपुरधाम उपमहानगरपालिका–४ निवासी साधु साहका छोरा सञ्जय विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नेसम्म डन कै छविबाट अघि बढेका थिए । उनले कैयौं पटक सार्वजनिक अपराध र कुटपिट मुद्दामा खेपेर थुना परेका थिए ।
उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०६४ साल चैत २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नम्बर–४ बाट पहिलो पटक निर्वाचित हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए ।
निर्वाचित लगत्तै उनले तीन राउण्ड हवाई फायर गरेर जितको खुसी मनाएका थिए । साह सो निर्वाचनमा १३ हजार ४ सय २२ मत ल्याएर भारी मतान्तरले तत्कालीन एमाले नेता रघुवीर महासेठलाई पराजित गरेका थिए ।
सभासद रहेकै बेला फोरम नेपाल परित्याग गरी उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेर भौतिक पूर्वाधार राज्यमन्त्री समेत बन्न सफल भएका थिए ।
त्यसैगरी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टीबाट नेपाली कांग्रेसका नेता रामसरोज यादवलाई हराउँदै धनुषाको क्षेत्र ४ बाट साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए ।
निर्वाचन सम्पन्न भए लगत्तै उनलाई सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको थियो ।




