
पर्सा - अघिल्लो वर्ष कोरोना महामारीका कारण बजार राम्रो नभए पनि यस वर्ष बजार केही राम्रो भएपछि माटोको भाँडाकुँडा बनाउने कुम्हार (कुमाल) समुदायका मानिसहरू उत्साहित भएका छन्।
बारा जिल्लाको विश्रामपुर गाउँपालिका-२ कान्तिपुर बरैनियाका ७२ वर्षीय चनरदेव पण्डित (कुम्हाल)लाई भ्याइनभ्याइ छ। कोरोना कहरले गत वर्ष सुस्त रहेको व्यवसाय चलायमान हुने देखेपछि उनी तिहार लक्षित सामान बनाउन व्यस्त छन्।
‘यो सिजन त अलि भ्याइनभ्याइ हुने सिजन नै हो‚’ उनले भने‚ ‘विगतमा सामानको रेट कम हुँदा पनि राम्रै फाइदा हुन्थ्यो तर अहिले केही रेट बढ्दा पनि मुनाफा भने तुलनात्मक रुपमा बढेको छैन।’
माटोका भाँडाकुँडा बिक्री गर्दा घर परिवारको खर्च चलाउँदै आएका उनले यस वर्ष करिब एक लाख रुपैयाँ आम्दानी हुने उनले बताए।
चनरदेव यस पेशमा ४२ वर्षदेखि छन्। तर‚ आधुनिकतासँगै भित्रिएका झालरबत्ती र छिमेकी मुलक भारतमा मेशिनबाट बनाइएका दियो आफ्नो समुदायको पेशा गर्नेका लागि दीर्घकालीन समस्या भएको चनरदेवको बुझाइ छ।
‘मेशिनबाट बनाएका माटोका आयातित दियो सस्तो र बुट्टादार हुँदा ग्राहकहरू ती दियोतर्फ आकर्षित हुन थालेका छन्‚’ उनले भने‚ ‘यसले चाहिँ स्वदेशी उत्पादनलाई मार परिरहेको छ।’
तराईमा धुमधामले साथ मनाइने दीपावली र छठपर्वमा माटोका कलश, ढकन, चौमुख दियो, हात्ती, खपरी, सानो दियो अनिवार्य झै छ। गत वर्ष कोरोनाका कारण खुलेर पर्व मनाउन नपाएका सर्वसाधारणहरूले यस वर्ष भने ती सामग्रीको जोहो थालेपछि माटोका सामान बनाई बेच्ने व्यवसायी उत्साहित छन्।
व्यवसायीहरूले सोमबार समुदायको तर्फबाट वीरगञ्जको घण्टाघर छेउमा कार्यक्रम गरी वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँग छठ पर्वसम्म बीपी उद्यानको सडक छेउबाट आफूलाई नहटाउन आग्रह पनि गरे। ‘मिल्छ भने हामीलाई नियमित यतै माटोका सामग्रीको पसल गर्न व्यवस्था पनि मिलाइदिनुस्’ नगरप्रमुखसँग उनीहरुले भने।
नगरप्रमुख सरावगीले पनि तत्काल त्यहाँबाट नहटाउने आवश्वासन दिए। उनले व्यवस्थित रुपमा व्यापार गर्न व्यवस्था गरिदिने बताए।