आशिक हुसैन शेख
दोहा, कतार । विदेशमा रहेका नेपालीबीच एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले कतारमा सातै प्रदेशका नेपालीले संयुक्त रूपमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १२१ जनाले रक्तदान गरेका छन् ।
‘सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश’ भन्ने मूल नाराका साथ कतारमा क्रियाशील सातै प्रदेश समन्वय परिषद्को संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।



कतारको हमद अस्पतालस्थित ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको कार्यक्रममा २२९ जनाको सहभागिता रहेको थियो । स्वास्थ्य परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गरेपछि १२१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपालका कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समन्वय परिषद्का प्रतिनिधि तथा कतारमा रहेका नेपालीको सहभागिता थियो । सातै प्रदेशका संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमले प्रदेश, जिल्ला तथा क्षेत्रगत पहिचानभन्दा माथि उठेर नेपालीहरू मानवीय सेवामा एकजुट हुन सक्ने सन्देश दिएको आयोजकको भनाइ छ ।
रक्तदान कार्यक्रममा नेपाली महिला दिदीबहिनीको पनि उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूले उत्साहपूर्वक रक्तदान गर्दै मानवीय सेवामा योगदान गरेका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य आवश्यक परेका बिरामी तथा घाइतेका लागि रगतको अभाव न्यूनीकरणमा सहयोग पुर्याउनुका साथै नेपाली समुदायमा नियमित रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउन सकिने महत्वपूर्ण सामाजिक तथा मानवीय सेवाका रूपमा लिएका थिए ।
रक्तदान गर्ने १२१ जना रक्तदातालाई कार्यक्रमपछि प्रमाणपत्र प्रदान गरिएको थियो । रक्तदाताहरूले आफूले दिएको रगतबाट आवश्यक परेका व्यक्तिको जीवन बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिले विदेशमा रहेका नेपालीबीच सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिएका थिए । यस्ता संयुक्त अभियानले कतारमा रहेका नेपालीबीच आपसी भाइचारा, सहकार्य र एकताको भावना थप बलियो बनाउने उनीहरूको भनाइ थियो ।
आयोजकहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सातै प्रदेश समन्वय परिषद्, नेपाली रक्तदाता संघ कतार, स्वयंसेवक, सहयोगी तथा सहभागी सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन् ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायलाई मानवीय सेवामा एकताबद्ध भएर अघि बढ्न प्रेरित गरेको आयोजकको निष्कर्ष छ ।




