धनुषा - मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।
सामा चकेवा पर्व आज पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ भने एघाराँैदिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ ।
दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ– आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् ।
आजको दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् भने सो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन् ।
सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाउनेछन् । रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियोबाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलिबेटीले सामा चकेवा खेल्नेछन् ।
समूहगत रुपमा चेलिबेटी तथा छोरीबुहारीहरुले यसरी गीत गाउने गर्दछन् ।
‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’(अर्थात गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइ दिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु ।) यी लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूह मै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारांै दिनमा बिहानै सामा चकेवालाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरी सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर सामा चकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउँछन् । उनका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोही अनुरुप यस पर्वमा टाढा टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् । जनकपुरधाम २ की नितु मिश्र भन्नुहुन्छ, ‘मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण हो ।’ मिश्रले यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गरेको बताउनुभयो। उहाँले सामा चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको बताउनुभयो । तराईको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा लगायत सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ भने हर्ष उल्लासका साथ यी ठाउँमा यो पर्व मनाउने गर्दछन् । मिथिलाञ्चलमा छठ पर्व खरनाको दिन देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । यसरी सुरु भयो सामा चकेवा पर्व पद्म पुराणमा उल्लेख भए अनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन्। राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन्। तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरु लगाइदिन्छ। त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शंका गरी चरी बन्ने सराप दिन्छन्। चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन्। यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन्। श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले वृन्दावन मै आगो लगाइदिन्छ। आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ। आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ। यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन्। यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रहिआएको छ। सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ। भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ। श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भइ सामा र चकेवा नाम प्रचलित हुन गएको हो। यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ।