जनकपुरधाम- ऐन नै संशोधन गरेर मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराई पदमुक्त गरिएको छ।
मिडिया काउन्सिल सम्बन्धी ऐन संशोधन गरेर आफूलाई पदमुक्त गरिएको भट्टराईले बताए । नियुक्तीको बखत उमेर हद नराखिएपनि केही दिन अघि ऐन संशोधन गरेर उमेर हद तोकिएको उनले बताए। संशोधन गरिएको ऐन अनुसार हाल ६० वर्ष नाघेपछि स्वत्त पदमुक्त हुने व्यवस्था गरिएको छ र आफ्नो उमेर ६९ वर्ष भइसकेको हुँदा पदमुक्त भएको हो ।
भदौ ६ गतेको मन्त्रीस्तरीय निणर्यले उनलाई पदमुक्त गरिएको संचार मन्त्रालयले जनाएको छ। भट्टराईलार्ई पदमुक्त भएको पत्र गृह तथा संचार मन्त्रालयले बुधवार नै मिडिया काउन्सिल मधेश प्रदेशको कार्यालयमा पठाइसकेको छ।
भट्टराईलाई २०७७ माघ २९ गते मधेश प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको थियो । ऐन अनुसार नियुक्ती भएको मितिले पदावधी चार वर्षको समयसीमा थियो। तर, नियुक्ती भएको दुई वर्ष नवित्दै उमेरहद तोकेर उनलाई पदमुक्त गरिएको हो ।
संशोधन गरिएको ऐन अनुसार मिडिया काउन्सिल र आमसंचार प्राधिकरणका पदाधिकारी तथा सदस्यहरुले आफनो जिम्मेवारी बहन नगरेको पाइएमा विभागीय मन्त्रीले एक पटक स्पष्टिकरण सोध्ने र जवाफ चित्त बुझ्दो नआएमा पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
गृह तथा संचार मन्त्रीमा नेकपा माओवादीबाट मन्त्री भएका भरत साहले गत वर्ष नै मिडिया काउन्सिल र आमसंचार प्राधिकरणका सदस्यहरुलाई पदमुक्त गर्नको लागि स्पष्टिकरण सोधेका थिए । तर, सदस्यहरुले कानूनी बाटो रोजेपछि मन्त्री साह पछि हटेका थिए ।
अहिले मन्त्री साहले ऐन नै संशोधन गरेर स्पष्टिकरणपछि सोझै पदमुक्त गर्न सक्ने व्यवस्था गरेका छन् ।
पदमुक्त गर्ने व्यवस्था भएपछि मिडिया काउन्सिल र आम संचार प्राधिकरणका सदस्यहरुको पद जोखिममा परेको छ ।




