जनकपुरधाम। नेपाल र भारत सीमासँग जोडिएको प्रायः बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण हुने गरेको पाईएको छ ।
सूर्य टोबाको कम्पनी नेपाल प्रा.लि द्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको नक्कली चुरोट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ।
नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिने गरेको पाइएको छ। तस्करले खुला सिमानाको फाइदा उठाउँदै नक्कली चुरोट बलेकिया (बोर्डरमा अवैद्य सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री वित्तरण हुने गरेको छ।
आन्तरीक राजस्व कार्यालय धनुषाको निर्णय अनुसार धनुषाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका ५ महेन्द्रनगर स्थित शंकर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्समा नक्कली चुुरोटको खरिद विक्रीको गोप्य सुचनाका अनुसार छापा मारेर मंगलवार ४९९ थान खुकुरी ब्राण्डको नक्कली चुरोटको डब्बा फेला पारेका छन् ।
फेला पारेका नक्कली चुरोट सहित पसलका संचालक शंकर साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको छ ।
धनुषामा मात्र हैन प्रदेश २ का ८ वटै जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण भइरहेको हो । तर नक्कली चुरोट बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । समान बरामद गर्नुले मात्रै नपुग्ने भन्दै यसमा कारबाही प्रक्रिया अगाडि नबढेसम्म नक्कली समस्यामा कमीन आउने जानकार बताउँछन् ।
सरकारले नियम बनाए पनि नियमको कार्यन्वयन हुन नसकेकै कारण नेपाली बजारमा नेपाली ब्रान्डकै भारतीय नक्कली चुरोट बिक्री वितरण एवं कारोबार हँुदै आएको व्यापारीहरु नै बताउँछन् ।
प्रदेश २ का सबै जिल्लाको बोर्डर सीमा क्षेत्र नजिक भएको हुँदा छ्याप्छ्याप्ती रुपमा नेपाली ब्राण्डका खुकुरी र शिखर भारतीय नक्कली चुरोटको बिक्री वितरण भईरहेको छ ।
सम्बन्धित निकायले ठोस रुपमा अनुगमान गर्न नसक्दा भारतसँग सिमा जोडिएका नेपाली क्षेत्रमा खुले आम रुपमा नक्कली ब्रान्डका सूर्तीजन्य पदार्थ बिक्री भइरहेको छ भने राजस्व छली समेत हुदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
नक्कली भारतीय सूर्तीजन्य पदार्थ नेपाली बजारमा पाउन थालीए पछि नेपाली उद्योग धाराशायी हुने स्थितिमा पुगेका छन् । नक्कली खुकुरी चुरोट र असली चुरोटमा अन्तर सम्बन्धमा सूर्य नेपाल प्रालिले सक्कलीमा गाढा रातो रंगको डिब्बा छ भने नक्कलीमा कम रातो रहेको छ ।
सक्कलीमा स्टिकर लोगो रहेको छ भने नक्कलीमा त्यस्तो केही हुँदैन । ती जिल्लाका सीमावर्ती क्षेत्रबाट महिनामा कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अबैध रुपमाभित्रिने गरेको दाबी स्वदेशी उत्पादकको छ ।
अवैध कारोबारीले प्रतिमहीना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरिएको छ । नियन्त्रणका निकायले कारबाहीमा खासै चासो नदेखाएको बताइएको छ।
आव २०७५÷०७६ मा अधिकतम ८७ प्रतिशतसम्म र सरदर सवै चुरोटमा ४० प्रतिशत भन्दा धेरैले कर बृद्धि गरिएको र आव २०७६÷०७७ मा थप १० प्रतिशत कर बृद्धि गरिएकोले सोहि बेला देखि एकाएक सूर्तिजन्य पदार्थ विशेष गरेर चुरोटको अवैध व्यापार उल्लेख्य रुपमा बढेको छ । अत्याधिक कर लाग्ने भएकोले कर छलेर बेचिने यस्ता नक्कली चुुरोटमा अधिक नाफा हुने भएकोले अवैध व्यापार बढेको हो ।
राजधानीमा छ्याप्प छ्याप्ती पाइने विदेशी कर छलेका चुरोटका अलावा स्वदेशी ब्राण्डका नक्कली चुरोट समेत तराईका बजारमा छ्याप्पछ्याप्ती पाइन थालेपछी स्वदेशी उद्योग समस्यामा पर्ने मात्र नभइ नेपाल सरकारले समेत उल्लेख्य राजश्व गुमाउने देखिन्छ ।
उद्योग सम्बद्ध स्रोतका अनुसार गैरकानुनी चुरोटका कारण राज्यले करिब २३० करोड र अन्य गैरकानुनी सूर्तिजन्य पदार्थका कारण बर्षेनी करिब ५७० करोड गरी कुल ८०० करोड बराबरको राजश्व गुमाइरहेको छ ।