जलेश्वर। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा अवस्थित बिजुलीको पोलहरुमा आज बिहान बिजुली बत्ती जडान गरिएको छ ।
प्रकाश एवं उज्यालोको शुभ दिन आज दिपावलीको अवसरमा पनि महोत्तरी जिल्लाको सदरमुकाम रहेको जलेश्वर नगरपालिकाको वडा नम्बर–२ मा रहेका बिजुलीको पोलहरुमा वडा कार्यालयले बिजुली बत्ती जडान नगरेको भन्दै दुर्गा पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीको सहयोगमा एक सय बढी पोलमा बिजुली बत्ती जडान गरेका छन् ।
अध्यक्ष चौधरीको अगुवाईमा युवाहरुको एक समूहले आज बिहानै जलेश्वरको महेन्द्र चौकमा जम्मा भई बिजुली चिम नरहेको वडाको पोलहरु गिन्ती गरेर एक सय (१००) बढी स्थानमा चिम, होल्डर, तार सहितको वस्तुहरु जडान गरेका छन् ।
दिपावलीको दिनमा पनि आफ्नो वडा अन्धकारमय रहेको प्रति ध्यानाकृष्ट गर्दै आफूहरुले जलेश्वर नगरपालिकाको समन्वय एवं सहकार्यमा रु.एक लाख मुल्य बराबरको चिम, होल्डर, तार सहितका वस्तुहरु जडान गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।