काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपालको भ्रमणमा आउने भएका छन् । कोप २६ सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गरेका हुन् ।
कोप २६ मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफूले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी गरेको र उनी नेपाल आउन उत्सुक रहेको जानकारी दिए ।



‘मैले भारतीय प्रधानमन्त्रीलाई तपाईँ नेपाल आउनुस् हामी स्वागत गर्छौँ भनेँ । नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरेँ, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु’, प्रधानमन्त्री देउवाले भने, ‘उहाँले आफू नेपाल आउन तयार रहेको बताउनुभयो, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ ।’
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसीसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङ्गो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी पनि दिए ।
‘उनले एमसीसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्याएर निष्कर्षमा पुग्छौँ भनेको छु । हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ’, उनले भने, ‘संसद स्थगन भएको यही कारण होइन अन्य कारणले हो, कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो ।’




