जनकपुरधाम- जनकपुरधामदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा पुन: संचालनमा आउने भएको छ।
२० महिनासम्म स्थगित रहेको जनकपुरधाम–पटना बससेवा भोली कात्तिक २० गतेदेखि पुनः सञ्चालनमा आउन लागेको हो।
कोरोना महामारीका कारण गत वर्ष चैत ३ गतेदेखि बन्द गरिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।
एसी सुविधायुक्त बस सेवा प्रत्येक दिन जनकपुरधामबाट राति ८ बजे जनकपुरधामबाट पटनाका लागि छुट्ने उनले बताए।
२०७५ भदौ महिनामा जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र विहारको पटनाबाट विहारका मुख्यमन्त्री नीतिश कुमारले हरियो झन्डा देखाएर नेपाल–भारत मैत्रीपूर्ण बस सेवाको उद्घाटन गरेका थिए।