जनकपुरधाम - हेर्ने कथा मार्फत भोजपुरका प्रकाश तामाङको ३५ वर्षपछिको पारिवारिक मिलन चर्चाको उच्च शीखरमा छ । प्रधानमन्त्रीको ध्यानआकृष्ट हुँदा उनको निर्देशनमा प्रकाशले केहीदिन भित्रै घरमै नागरिकता पाए । तर राज्यकै संयन्त्रकै ढिलासुस्ती, जालझेल र बेवास्ताले नागरिकता मात्र होइन प्रतिलिपी लिन पनि कति झण्झिटिलो र पीडादायी छ भन्ने बुझ्न धनुषाकी आशा देवी मण्डलको कथा प्रयाप्त छ ।
एकवर्षदेखि जिल्ला प्रशासन कार्यालय धनुषाको चक्कर लगाउनु बटेश्वर गाउँपालिका १ धुमासनकी आशा देवी मण्डलको नियति बनेको छ । गत बुधबार अन्यदिन जस्तै पति रामदेव मण्डलसँगै सिडिओ कार्यालय धनुषा पुगेकी थिइन् आशा । तर वर्षदिनमा त्यो दिन जस्तो निराशा उनलाई कहिल्यै हुनु परेको थिएन । कारण हो, कार्यालयमा प्रतिलिपी लिन पेश गरेको उनको फाइल अब नभेट्ने कर्मचारीबाट थाहा पाउनु ।
‘तपाइले पेश गरेको कागजात धेरै खोजियो । तर कार्यालयमा कतै भेटिएन । अब फेरि वडाको सिफारिस र अनुसूचित भरेर ल्याउनुपर्छ । अनि मात्रै बन्छ’ नयाँपूराना नागरिकता फाँटका अधिकृत अनिल यादवले आशालाई सम्झाउँदै भने ।
आशाले प्रश्न भावमा भनिन् ‘कत हरागेल हमर फाइल सर, आब कतेक दिन आब परतै, कहिया भेटतै हमर नागारिकता ?’ आशा निरक्षर र सोझी छन् । राम्ररी बोल्न पनि सक्दिनन् ।
हुन त आशाको फाइल त्यसअघि नै हराएको थियो । तर प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले दुई महिना अघि उनको फाइल खोज्न कर्मचारीलाई निर्देशन दिएका थिए । फाइल खोज्ने जिम्मा पाएका अधिकृत यादवले भदौ पहिलो साता आए खोजेर बनाइदिन सकिने आश्वासन दिएका थिए ।
दलित समुदायका अत्यन्त विपन्न एवं लाचार मण्डल दम्पति निरक्षर र सोझा छन् । जनमजदुरी गरेर जेनतेन जिवीकोपार्जन गर्ने मण्डल दम्पतिलाई नागरिकताको प्रतिलिपी लिन जस्तो गाह्रो केही लागेको छैन । प्रतिलिपी लिनुपर्ने कारण हो २० वर्षीय छोरा राहुलको नागरिकता बनउनु पर्ने बाध्यता ।
छोरा राहुलको नागरिकता बनाउन वडाबाट सिफारिस, अनुसूचिसहितको कागजात रामदेवले २०८० को साउन तेस्रो साता जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर राहुलको आमा आशाको सक्कली नागरिकता केरमेट देखियो । कर्मचारीले पहिले आमा आशादेवीको प्रतिलिपी लिएर आए मात्र छोराको नागरिकता प्रक्रिया अघि बढाउने भन्दै फर्काए ।
छोरा राहुलको नागरिकता बनाउने काम थाँति राखेर रामदेव श्रीमती आशाको नागरिकताको प्रतिलिपी लिने प्रक्रियामा लागे ।
‘छोराको नागरिकता बनाउन आउँदा पोहोर कर्मचारीले भन्यो आमाको नागरिकता केरमेट छ । यसले काम हुँदैन । अर्को प्रतिलिपी लिएर आउनु भनेपछि श्रीमतीको नागरिकता बनाउनतिर लागे’ रामदेव भन्छन् ।
वडाबाट सिफारिस गराएर अनुसूचिसहित कागजात जिल्ला प्रशासन कार्यालय धनुषामा भदौमा पेश गरे । असोजमा बल्ला आशाको नागरिकता बन्ने काम अन्तिम अवस्थामा पुग्यो । आशाको औँठा छाप र तस्बीर लियो । भोलि आएर नागरिकता लिएर जानु भन्दै कर्मचारीले फर्काए । भोलिपल्ट रामदेव श्रीमती आशलाई लिएर पुगे । झ्यालबाट कर्मचारीलाई गुहार्न थाले । कर्मचारीले फाइल नभेटेको सुनाउँदै भोलि आउन भन्दै फर्काए । यो क्रम महिनौसम्म चल्यो ।
मजदुरी र सरसापट गरी रामदेव र आशा निरन्तर बस चढेर २५ किलोमिटर पर जिल्ला प्रशासन कार्यालय चहार्न थाले । दम्पति अउने र फर्किने क्रम चलिरह्यो ।
‘हामी गरिब सोझो मान्छे । जनमजदुरी सरसापट गरेर निरन्तर श्रीमतीलाई लिएर आउन थाले । जहिले आउँथे, कर्मचारीले खोजेर राख्छु अर्को दिन आउनु भनेर फर्काउँथे ।अहिलेसम्म यसरी नै दौडधुप गरिरहेको छु’ रामदेव पीर पोख्छन् ‘अब कर्मचारी भन्छन् फाइल भेट्दैन । फेरि वडा सिफारिस गरेर कागज ल्याउनुस् । सिफारिस गराउन, आउन जान पैसा लाग्छ । म गरिब मान्छे पीडित भइसकेको छु ।’
प्रशासन कार्यालयमा आशा देवीको फाइल भेटिएन । तर त्यस अभिलेख फाँटको अभिलेख फाइलमा उनको नागरिकतासम्म बनिसकेको कार्ड भेटिएको छ । जसमा फोटो उप्काइएको छ भने रातो कलमले काटेको छ ।
प्रजिअ कडरियाले अब पुनः प्रतिलिपी लिनुपर्ने प्रक्रिया अघि बढाउनु पर्ने बताए ।
कागजातलाई जतनसाथ नराख्दा दम्पतिको नागरिकता नबुझ्ने अवस्थामा पुगिसकेको छ । त्यसैले अब रामदेव आफ्नो पनि नागरिकताको प्रतिलिपी लिन दुईसाता अघि कागजात पेश गरेका थिए । तर जिल्ला प्रशासन कार्यालयमा अभिलेख र सम्पूर्ण कागजात हुँदाहुँदै कर्मचारीले प्रतिलिपी लिन पनि प्रहरी सर्जिमिन मुचुल्का ल्याउन लेखिदियो । उनी मुचुल्का बनाउन प्रहरी कार्यालय धाउँदै छन् । र श्रीमती पुनः नागरिकता प्रतिलिपीको कागजात तयार गर्न वडा कार्यालय ।
एक अधिकृतका अनुसार प्रतिलिपी लिन प्रहरी सर्जिमिन मुचुल्का आवश्यक पर्दैन । तर सबै कागजात हुँदाहुँदै पनि काम टार्न प्रहरी सर्जिमिन मुचुल्का लेखिदिने गर्छन् । यसले सेवाग्राहीहरु अनावश्यक सास्ती पाउने गरेको ती अधिकृतको भनाइ छ ।
नागरिकता प्रतिलिपी लिन प्रशासनिक ढिलासुस्तीको चक्रमा फसेका मण्डल दम्पति उदाहरण मात्र हुन् । धनुषासहित मधेशका जिल्लामा नागरिकता र प्रतिलिपी लिन सास्ती खेप्नु पर्ने बाध्यता छ ।