जनकपुरधाम । नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्रान्डका रूपमा परिचित होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ ।
मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित जनकपुरधाममा चारतारे स्तरको सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउँदै कम्पनीले मधेश प्रदेशको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ ।



होटलको औपचारिक उद्घाटन जेठ २२ गते हुने तय भएको छ । उद्घाटनको अवसरमा तीन दिनसम्म ‘बृहत् खाना प्रवर्द्धन कार्यक्रम’ आयोजना गरिने भएको छ ।
त्यस अवसरमा होटल पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी तथा स्वाद परीक्षण कार्यक्रम सञ्चालन गर्नेछन् ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जनकपुरधाममा शाखा विस्तार व्यावसायिक लगानी मात्र नभई धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनसँग जोडिएको अभियान भएको बताए ।
उनका अनुसार जनकपुरधाम नेपालकै प्रमुख धार्मिक गन्तव्य भएकाले यहाँ गुणस्तरीय आवास र आतिथ्य सेवाको आवश्यकता बढ्दै गएको छ ।
‘जनकपुरधाममा चारतारे स्तरको होटल सञ्चालनमा ल्याउनु हाम्रो विस्तार यात्राको महत्वपूर्ण उपलब्धि हो,’अध्यक्ष भण्डारीले भने, ‘नेपाल–भारत धार्मिक सम्बन्ध, सीतारामको सांस्कृतिक विरासत र तीर्थयात्राको केन्द्रका रूपमा रहेको जनकपुरधाममा गुणस्तरीय होटल पूर्वाधारले पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने विश्वास लिएका छौं ।’
उनका अनुसार होटलमा ६२ वटा सुविधा सम्पन्न कोठाहरू रहेका छन् । स्विमिङ पुल, जिम, साउना, स्टिम, स्पा, आधुनिक रेस्टुरेन्ट तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सेमिनार तथा सम्मेलन आयोजना गर्न सकिने हलहरू सञ्चालनमा आइसकेका छन् ।
होटलले नेपाली संस्कार, नेपाली स्वाद र अन्तर्राष्ट्रियस्तरको सेवा संयोजन गरेर पाहुनालाई फरक अनुभव दिने लक्ष्य लिएको छ ।
उपाध्यक्ष ध्रुव न्यौपानेले होटल पौवाले जनकपुरधामलाई एउटा व्यावसायिक गन्तव्यका रूपमा मात्र नभई धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा हेरेको बताए ।
उनले पछिल्ला वर्षहरूमा जनकपुरधाम आउने आन्तरिक तथा भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेकाले गुणस्तरीय आवास सेवाको माग पनि तीव्र रूपमा बढेको बताए ।
‘जनकपुरधाम, लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथलगायत धार्मिक गन्तव्यलाई जोड्ने पर्यटन सञ्जालमा होटल पौवाले विश्वसनीय आतिथ्य साझेदारको भूमिका निर्वाह गरिरहेको छ,’न्यौपानेले भने,’हामीले एउटै ब्रान्ड अन्तर्गत देशका विभिन्न स्थानमा समान स्तरको गुणस्तर, स्वच्छता र सेवा सुनिश्चित गरेका छौं । यसले पर्यटकलाई सुरक्षित र सहज अनुभव प्रदान गरिरहेको छ ।’
उनले आगामी दिनमा भारतीय धार्मिक पर्यटकलाई लक्षित गर्दै जनकपुरधाममा विशेष पर्यटन प्याकेज, सांस्कृतिक कार्यक्रम तथा स्थानीय परिकार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
होटल पौवाले चुनौतीपूर्ण आर्थिक अवस्था र लगानीमैत्री वातावरण कमजोर भइरहेका बेला पनि देशभर आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ । रुपन्देहीबाट सुरु भएको यात्रा आज देशका विभिन्न पर्यटकीय तथा व्यापारिक केन्द्रसम्म फैलिएको कम्पनीको दाबी छ ।
हाल होटल पौवाका शाखा भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, भरतपुर, मुलकोट, कालिञ्चोकलगायत विभिन्न स्थानमा सञ्चालनमा रहेका छन् ।
यसैगरी नेपालगञ्जमा पाँचतारे स्तरको होटल तथा पाल्पाको चौकीडाँडामा ‘पौवा वनवास’ नामक लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ । गत वैशाखदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भैरहवामा पनि चारतारे स्तरको होटल सञ्चालनमा आएको छ ।
अध्यक्ष भण्डारीका अनुसार होटल पौवाको विशेषता सामूहिक लगानीको अवधारणा हो । कम्पनीले कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गरेको छ ।
‘साझा स्वामित्व, साझा सफलता’ को अवधारणालाई व्यवहारमा उतार्दै संस्थाले कर्मचारीको सहभागिता र स्वामित्व भावना बढाएको उनको भनाइ छ ।
उनले होटल उद्योगलाई नाफामुखी व्यवसायका रूपमा मात्र नभई रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र पर्यटन अर्थतन्त्रलाई मजबुत बनाउने माध्यमका रूपमा हेरिनुपर्ने धारणा राखे । उनका अनुसार होटल पौवाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं व्यक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएको छ ।
उपाध्यक्ष न्यौपानेले नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई कम्पनीको दीर्घकालीन रणनीतिक प्राथमिकतामध्ये एक रहेको बताए ।
‘नेपाली स्वादलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित हामी अघि बढिरहेका छौं,’उनले भने,’आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत नेपाल र विदेशमा एक सयभन्दा बढी शाखा विस्तार गर्ने योजनामा छौं ।’
उनका अनुसार होटल पौवाले नेपालीपन, स्थानीय संस्कृति र आधुनिक सुविधाको संयोजनमार्फत अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गरिरहेको छ ।
उद्घाटन समारोह तथा खाना प्रवर्द्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ ।
जनकपुरधाममा होटल पौवाको आगमनसँगै धार्मिक पर्यटनको केन्द्रका रूपमा परिचित यस शहरमा उच्चस्तरीय आवास तथा आतिथ्य सेवाको विकल्प थपिएको छ ।
पर्यटन व्यवसायीहरूले समेत यसले जनकपुरधामको पर्यटन पूर्वाधार सुदृढ बनाउन, पर्यटक बसाइ अवधि बढाउन तथा स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सकारात्मक योगदान पुग्ने विश्वास गरेका छन् ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै होटल पौवाले नेपाली आतिथ्य उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउने लक्ष्यसहित आफ्नो विस्तार यात्रालाई निरन्तरता दिएको जनाएको छ ।




