
धनुषा। छठ पर्वको मौका छोपी अहिले बजार भाउ निकै महंगिएको उपभोक्ताहरु बताउँछन् ।
जनकपुरको पीडारी चोकमा छठ पर्वको लागि सामग्री खरिद गर्न पुगेका सतीश लाल कणर्ले छठ पर्वमा पूजाको लागि चाहिने केरा देखि कागती सम्मको भाउ बढेको सुनाउनुभयो। कणर्ले अरु बेला ५ रुपैयाँ गोटाले पाउने कागती अहिले २० रुपैयाँ गोटा भन्दा कममा पाउन मुश्किल भएको बताउनुभयो ।
छठमा चाहिने सामग्री किन्नको लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै नै बढेको छ ।
छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको संख्या उल्लेख्य छ।
अहिले केरा घरिको ५०० देखि ८०० सम्म विक्री भएको व्यापारीहरु बताउँछन्। साथै उखु गोटाको १५ रुपैयाँमा विक्री भएको व्यापारीको भनाइ छ।
छठ पर्वमा केराको सिंगै घरी नै प्रसादको रुपमा चढाउनु पर्ने भएको हुँदा अहिले बजारमा केराको अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्ला स्थित विभिन्न व्यापारीक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ ।
शनिवार मात्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजारमा लाखौ रुपैयाको केराको व्यापार भएको केराका एक ठेक्केदार बताउछन् । विगतको तुलनामा यस बर्ष केराको मुल्यमा अत्याधिक बृद्धि भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगर बजारमा माग अनुसार आपूर्ति नभएकोले केराको मुल्यमा हवात्तै बृद्धि भएको एक उपभोक्ता संजीप साहले बताउनुभयो।
प्रायजसो सबै बजारहरुमा अहिले केराकोे खरिद बिक्रि गर्नेको ठुलै भिड लागेको देखिन्छ । स्थानिय बजारमा केराको माँग बढेपछि स्थानिय किसानहरुले लगाएको केरा बजारमा ल्याउने क्रम समेत जारी रहेको छ भने मुलुकको विभिन्न ठाउँहरुमा जहाँ केराको खेती गरीन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्र्न सक्दा भारतको हाजिपुर, दरभंगा, पटना, आसाम, बंगाल, ठाकुरगंज लगायतका ठाउँहरुमा केरा मगाएको फलफूल तथा तरकारी व्यवसायी समिति जनकपुरका अध्यक्ष विशेश्वर यादवले बताउनुभयो ।
तिहार र छठको बेला सबैले केरा खरिद गर्ने भएकाले केराको मुल्य आकासिएको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले बताउनुभयो ।
गत बर्षको तुलनामा यस बर्ष केराको मुल्य करिब ३० देखि ४० प्रतिशत बृद्धि भएको छ । अहिले एक घरी केराको मुल्य साधारणतया ५ सय देखि ८ सय सम्ममा बिक्री भईरहेको छ ।
यस क्षेत्रको प्रमुख बजारको रुपमा समेत रहेको सखुवा बजारबाट बिक्रि बितरण भई बिभिन्न ठाउँ जाने गरेको स्थानिय दिलिप महतोले बताउनुभयो ।
छठ पर्वमा बनाउने प्रसाद ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ। पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ।














