जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जानकी नवमीको अवसरमा धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्धनलाई लक्षित गर्दै नौदिने धार्मिक महोत्सव आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ नेपाल (इस्कोन) मन्दिरले जनकपुत्री अर्थात् माता सीताको जन्मोत्सव (जानकी नवमी) को अवसरमा नौ दिवसीय धार्मिक महोत्सवको आयोजना गरेको हो ।



सो अवसरमा वैशाख ५ गते शनिबारदेखि सुरु भएको महोत्सव वैशाख १३ गते जगन्नाथ रथ यात्रापछि समापन हुने छ भने महोत्सव अन्तर्गत दुग्धमति नदी किनारमा अवस्थित इस्कोन मन्दिर परिसरमा श्रीमद्भागवत कथा, जानकी जीको महाभिषेक उत्सव, पूजा–अर्चना, प्रसाद वितरणजस्ता धार्मिक गतिविधिहरू रहेका छन् ।
इस्कोन जनकपुरधामका अध्यक्ष रामेश्वरम दासले जानकी नवमीको अवसरमा हरेक वर्षझैं यस वर्ष पनि विशेष कार्यक्रम अन्तर्गत कथावाचन, किर्तन, जानकी जीको महाअभिषेक तथा जगन्नाथ रथयात्रासहितको कार्यक्रमका आयोजना बताउनुभयो । उहाँले यस कार्यक्रममा विभिन्न राष्ट्रका पर्यटकहरूको आगमनले जनकपुरधाममा धार्मिक वातावरणको महोल निर्माण हुने अपेक्षा लिएको उल्लेख गर्नुभयो ।
यस्तै महोत्सव अन्तर्गत ११ गतेसम्म दैनिक दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म अनन्त कृष्ण दास गोस्वामी महाराजको विशेष उपस्थितिमा श्रीमद्भागवत कथा वाचन गरिनेछ भने विशेष दिन १२ गते जानकी नवमीको अवसरमा किर्तन, कथा, महाभिषेक तथा सहभागी भक्तजनमा प्रसाद वितरण कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
साथै, सो अवसरमा इस्कोन मन्दिरको शिलान्यास समेत गरिने संस्थाका उपाध्यक्ष रमेशकुमार साह जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर निर्माणको प्रारम्भिक चरणमा करिब २५ करोड रुपियाँ लगानी गरिने छ भने दीर्घकालीन रूपमा करिब २ अर्ब रुपियाँ बराबरको परियोजना अघि बढाइने योजना रहेको छ ।




