महोत्तरी। लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले महापर्व छठ पूजाको असरले हाम्रा समाजमा जडा गाडेका कोरोनाजस्तो महामारीलाई परास्त गरिदिनका लागि छठिमईयासँग विन्ती गरेका छन् ।
वुधबार विहान महोत्तरीको औरहीस्थित पैतृक गाँउमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेता भण्डारीले छठि मईयाको असिम कृपा हामीहरुमाथि रहेकोले माताको शक्तिले नै कोरोना परास्त हुने बताएका छन् । अहिले पनि समाजमा कोरोनाको असर वाँकी नै रहेकोले यसबाट बच्नकालागि स्वास्थ्य सतर्कता अपनाई छठ पर्व मनाउनका लागि उनले सवैमा अपिल गरेका हुन् ।



पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले भने, ‘जीवन र जगतको स्रोत सूर्यदेवप्रति कृतज्ञता प्रकटीकरणका लागि गरिने पूजाअर्चनाले प्रकृतिप्रति मानवीय अपेक्षा,चासो र लगावलाई अभिव्यक्त गर्दै आएको छ । जीवनदायिनी शक्ति सूर्यले हामीलाई जीवन र बोटबिरुवालाई भोजन उपलब्ध गराउँदछ । जसबाट यस पृथ्वीमा जीवन अस्तित्वले निरन्तरता पाउँदै आएको छ ।’
यस पर्वको सन्देशबाट हामी प्रेरित भई समानता र सामाजिक न्यायमा आधारित समाज निर्माणको पथमा हामी अग्रसर हुनेमा नेता भण्डारीले जोड दिएका छन् । उनले कोरोनाबाट जोगिन स्वास्थ्य सतर्कता अपनाएर पर्व मनाउन आग्रह समेत गरेका छन् ।




