जनकपुरधाम- प्रदेश २ को सरकार नेकपा एकिकृत समाजवादी पार्टीलाई सामेल गराउने तयारी भएको छ । सम्भवतः सोमबार नै मन्त्रिपरिषदमा हेरफेर हुने बताइएको छ।
जनता समाजवादी पार्टी नेपाल फुटेपछि पार्टी र सरकार जोगाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराइसकेका मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको छ ।
नेकपा (एस) ले मुख्यमन्त्रीसँग एक महिनादेखि आकर्षक मन्त्रालय माग्दै त्यसका लागि लविङ्ग गर्दै आएको थियो। जसअनुसार मुख्यमन्त्री राउतले सरकारबाट एकजना मन्त्रीलाई फिर्ता बोलाउन लागेका छन् ।
मुख्यमन्त्री राउतले नेकपा (एस)लाई सरकारमा सामेल गर्नका लागि आफ्नै पार्टीबाट उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई राजीनामाका लागि निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। स्रोतकाअनुसार मन्त्री रायले भोलिसम्ममा राजीनामा दिने तयारी गरेको बताइएको छ।
मुख्यमन्त्री राउतले यसअघि सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई पनि राजीनामाको भनेको तर उनले आफू राजेन्द्र महतोको साथ छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएका सरकारबाट नबाहिने अडान लिएपछि उद्योगमन्त्री रायलाई राजीनामा दिन लगाइएको श्रोतले जनाए ।
उद्योगमन्त्री रायले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता शत्रुधन महतोलाई मन्त्री बनाइने भएको छ ।
त्यसैगरि समाजिक विकास मन्त्रालयले अहिले हेर्दै आएको शिक्षा क्षेत्रको जिम्मेवारी छुट्याएर छुट्टै शिक्षा मन्त्रालय समेत थपिने तयारी गरिएको श्रोतले जनाएको छ।
दुई मन्त्रालय सहित सरकारमा सहभागी हुने नेकपा (एस)बाट संसदीय दलका नेतका समेत रहेको शत्रुधन महतोलाई उद्योग, पर्यटन तथा वन मन्त्री बनाईने र शिक्षा मन्त्रीमा कसलाई दिने भने अहिले टुंगो नलागेको बताइएको छ।
नेकपा एसलाई कुनै एक मन्त्रालय दिएर सरकारमा हाल सहभागी गराइने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र साहले बताएका छन्। हाल प्रदेश सरकारमा मुख्यमन्त्री राउत सहित अर्थमन्त्री साह, कृषिमन्त्री विजय यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग पर्यटन मन्त्री राय जसपाबाट प्रतिनिधित्व गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, महिला तथा बालबालिका मन्त्री विरेन्द्र सिंह र उर्जा मन्त्री ओमप्रकाश शर्मा छन्।
नेकपा माओवादीको तर्फबाट भरतप्रसाद साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री रहेका छन्।
नेता महतो संगको फोन वार्ताको क्रममा सरकारमा सहभागी हुने कुरा पुष्टी गरेका छन्। ‘हामीले सरकारमा जान सामाजिक विकास र अर्थ मन्त्रालय दिन माग गरेका छौं तर, यस विषयमा हालसम्म मुख्यमन्त्री राउतले अन्तिम टुंगो लगाएका छैनन्’, महतोले भने, ‘भोलिसम्म मन्त्रालयको टुंगो लाग्ने छ।’
सोमवार साँझ सम्म यी सबै कुराको टुंगो लागे सोहि राती वा मंगलबार नव नियुक्त मन्त्रीहरुले सपथ ग्रहण गर्ने बताइएको छ ।