कप्तान केन विलियम्सनको विस्फोटक ब्याटिङको मद्दतले न्युजिल्यान्डले टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलियासामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ७२ रनको बनाएको हो। विलियम्सनले मात्र ४८ बलमा ८५ रन बनाए।
जस हेजलवुडको बलमा आउट हुन अघि उनले १० चौका र ३ छक्का प्रहार गरे। त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए।
अस्ट्रेलियका लागि हेजलवुडले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने एडम जाम्पाले पनि २६ रन खर्चदै १ विकेट लिए।
दुवै टोली पहिलो टी–२० विश्वकप उपाधि जित्ने दाउमा छन्। अस्ट्रेलिया दोस्रोपटक फाइनलमा पुगेको हो भने न्युजिल्यान्ड पहिलोपटक फाइनल खेल्दैछ।