जलेश्वर- महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर- २ बखरी गाउँमा घर भई काठमाडौंमा बस्दै आएका एक डाक्टर विगत पाँच महिनादेखि बेपत्ता रहेका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार भंगहा - २ बस्ने सुकदेव यादवका छोरा ५० वर्षीय डाक्टर प्रबोध कुमार यादव गत बैशाख ३ गतेदेखि बेपत्ता रहेका छन् ।
नशारोग विशेषज्ञ रहेको डाक्टर प्रबोध काठमाडौं स्थित चाइनिज पिपुल हस्पिटलमा काम गर्नुका साथै आफैले पनि पब्लिक न्युरो एक्युपञ्चर एण्ड फिजियो केयर प्रा.लि. सञ्चालन गरेर सेवा दिँदै आएका थिए ।२०८० चैत २४ गते काठमाडौंबाट जग्गा सम्बन्धी कामको लागि गाउँ आएका डाक्टर प्रबोध काठमाडौं स्थित डेरामा छोडी आएका ४ छोराछोरी र श्रीमतिलाई घर खर्चको लागि पैसा पठाउन गाउँबाट मधेश प्रदेशको राजधानी जनकपुर गएको बेला जनकपुरबाटै गायब भएका थिए ।नयाँ वर्षको समय रहेको कारण जग्गा सम्बन्धी कामकाज हुन नसक्दा १० दिनसम्म गाउँमै बस्नुपरेको डाक्टर प्रबोधले २०८१ बैशाख ३ गते श्रीमतिलाई पैसा पठाउन जनकपुरको मिल्स एरिया गएको बेला सोही स्थानबाट बेपत्ता भएको उनकी श्रीमति पुनम कुमारी यादवले बताउनुभयो ।
बैशाख २ गते राति श्रीमति पुनमसँग मोबाईल फोनमा कुरा गरेका डाक्टर प्रबोधले ‘भोलि जनकपुर गएर तिमीलाई पैसा पठाइदिन्छु र म कामकाज सकेर २/४ दिनपछि आउँछु’ भनेर बैशाख ३ गते जनकपुर पुगेर पनि दिउँसो २ बजे एकछिनमा पैसा पठाइदिन्छु भनेका डाक्टर प्रबोधले न त पैसा नै पठाए र न त आफू नै फिर्ता गए बरु सोही दिन दिउँसो ३ बजेदेखि उनको मोबाईल फोन पनि उठन छोडेको श्रीमति पुनमले बताउनुभयो ।बैशाख ३ गते दिउँसोदेखि रातभरिसम्म र बैशाख ४ गते २४सै घण्टा फोन गर्दा पनि डाक्रटर प्रबोधको फोनमा घण्टी गएको तर फोन उठेको थिएन भने बैशाख ५ गते बिहान ७ बजेतिर उनको फोन उठेको तर पुनमले हेल्लो गर्दा मोबाईलमा केहि जवाफ नफर्काई स्वीच्च अफ गरिएको थियो ।
त्यसदिन देखि आजसम्म डाक्टरको फोन स्वीच्च अफ नै बताउँछ भने डाक्टर यादवको आजसम्म कुनै अत्तोपत्तो छैन् ।
श्रीमानको फोन स्वीच्च अफ भएपछि बैशाख ५ गतेकै दिन डाक्टरको श्रीमति पुनमले गाउँमै रहेको दाजु नाता पर्ने सुरेश यादवलाई पठाएर प्रहरी चौकी सीतापुर भंगहामा आफ्नो श्रीमान डाक्टर प्रबोध यादवको खोजतलाशका लागि २०६ दर्ता नम्बरको निवेदन दर्ता गराएकी थिइन् ।प्रहरीले उक्त निवदेन जिल्ला पठाइदिएको र जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि सोही दिनदेखि डाक्टरको खोजतलाश गरिहेको प्रहरी उपरीक्षक नकुल पोखरेलले बताउनुभयो । तर आजसम्म डाक्टरको कुनै अत्तोपत्तो लागेको छैन् ।
यता विगत ५ महिनादेखि १४ वर्षीया छोरी -१ र क्रमशः १२ वर्षीय, १० वर्षीय र १८ महिनाका छोरा -३ लिएर भाडाको घरमा काठमाडौंमा बसिरहेकी श्रीमति ३६ वर्षीया पुनम कुमारी यादवलाई विभिन्न समस्याहरु भइरहेको उनले बताएकी छिन् ।
पाँच महिनादेखिको घर भाडा, बालबालिकाहरुको शिक्षादिक्षा र भरनपोषण सहितमा समस्या उत्पन्न भएको भन्दै पुनमले जिल्ला सदरमुकाम जलेश्वर पुगेर आफ्नो श्रीमानको खोजतलाशको लागि कलम चलाइदिन संचारकर्मीहरुलाई आग्रह गरेकी छिन् ।
श्रीमति पुनम कुमारी यादवले पटक पटक श्रीमान्को खोजतलाश गरिदिन फोन मार्फत तथा काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीमै पुगेर पनि हारगुहार र बिन्तिभाऊ गरेपनि उनको श्रीमानको कुनै अत्तोपत्तो नलागेको उनी बताउँछिन् ।
यसैबीच गत साउन १६ गतेका दिन पुनमले निक्कै प्रयासपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा शंकास्पद तीन जनामाथि जाहेरी दर्ता गराएपनि प्रहरीले ईमान्दारी र गम्भिरतापूर्वक मुद्दाको अनुसन्धान तथा संकास्पद व्यक्तिहरुसँग केरकार र सोधपुछ नगरिदिँदा आफ्नो श्रीमानको अवस्था अझै अज्ञात रहेको पुनमको आरोप रहेको छ ।
पुनमले श्रीमान गायब भएदेखि गाउँमा बस्दै आएका ससुरा सुकदेव यादव, सासु जिलेबिया देवी, देवर प्रदीप यादव र देवरानी अंजनी ठडिया यादवले आफूलाई काठमाडौंमा बालबच्चा सहित बसिरहेको अवस्थामा कुनै सहयोग नगरेको र गाउँमा जाँदा पनि कुनै मद्दत नगरेर गाली गलौज र बेईज्जति गरी भगाइदिने गरेको आरोप पनि लगाउनुभयो ।घरका सदस्यहरुले पुनमलाई नै श्रीमानलाई बेपत्ता पारेको र बहाना गरेर गाउँमा आएको भन्दै उनीहरुले सहयोग नगरिरहेको उनले भक्कानिदै बताईन् ।
तर काठमाडौंबाट गाउँ आएका डाक्टर पुनमको सम्पर्कमा नरहेको र आजसम्म कुनै अत्तोपत्तो नरहेको अवस्थामा ४ बालबालिका सहित काठमाडौंमा बस्नु र श्रीमानको खोजीको लागि पटक पटक जिल्ला प्रहरीसम्म आउजाऊ गर्दा निक्कै समस्या हुने गरेको भन्दै उनले संचारकर्मीहरुलाई सहयोगको लागि अपिल गरेकी छिन् ।
यस सन्दर्भमा महोत्तरीका संचारकर्मीहरुको एक समूह डाक्टर प्रबोधको गाउँमा अवस्थित घरमा पुग्दा उहाँका बुवा आमा घरमा भेटिनुभएन भने एक जना महिला घरमा देखिए पनि उनी बाहिर आउन तथा संचारकर्मीहरुसँग कुराकानी गर्न मानेनन् ।