सर्लाही- महेन्द्र राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–४, गणेश चोकमा सोमबार बिहान ट्रकको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।
सडक पार गर्न खोज्दा मधेश प्रदेश–०३–००२ ख ११९४ नम्वरको ट्रक किच्दा हरिपुर नगरपालिका–५, लक्ष्मीपुरका ५० वर्षीय पञ्चलाल चौधरीको मृत्यु भएको हो । सासापुरकै गेला गाउँमा मजदुरीको काम गर्ने चौधरी झरी परिरहेका बेला बिहान करिब ७ बजे साइकल चढेर आइरहेका बेला दुर्घटनामा परी मृत्यु भएको हो ।



प्रत्यक्षदर्शीका अनुसार चौधरी रोकिराखेको बस अगाडिबाट सडक पार गर्न खोज्दा पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । दुर्घटनापछि फरार भएको ट्रक र चालकलाई बागमतीबाट इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको छ ।
ट्रक तथा चालकलाई कारवाही अघि बढाउन इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताउनुभयो ।





