जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले सुनसरीसहित देशका विभिन्न स्थानमा हालै भएका हिंसात्मक तथा संवेदनशील घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्षसँग आग्रह गरेको छ ।
नगर प्रमुख मनोज कुमार साहद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनकपुरधाममा बिहीबार भएको घटनाले आफूलाई व्यक्तिगत रूपमा समेत भावुक बनाएको उल्लेख गर्दै सभ्य समाजमा यस्ता हिंसात्मक घटनाको कुनै स्थान नरहेको बताएका छन् ।



उपमहानगरपालिकाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा घाइतेहरूको निःशुल्क उपचार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अल्पकालीन र दीर्घकालीन योजना बनाउन नेपाल सरकारसँग आग्रह गरिएको छ ।
उपमहानगरपालिकाले मिथिलाको पहिचान संवाद, सहिष्णुता र विमर्शको भूमिका रूपमा रहेको उल्लेख गर्दै असहमतिका विषयलाई हिंसाबाट होइन, संवाद र तर्कका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
हाल जनकपुरधाम क्षेत्रमा देखिएका प्रदर्शनहरू शान्तिपूर्ण ढंगले सञ्चालन गर्न सबै पक्षलाई अपिल गर्दै उपमहानगरपालिकाले नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक सबै उपाय अपनाउन तथा बल प्रयोग गर्दा अधिकतम संयमता अपनाउन विशेष अनुरोध गरेको छ ।





