
एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ । ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभर पनि खेल्न सकेन र मात्र ५५ रनमा अलआउट भयो ।
यो जितसँगै भारत विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम भएको छ । उसले सबै ७ खेलमा जित हासिल गरेर १४ अंक जोडेको छ ।
मुम्बइमा मोहम्मद शामीले पाँच र मोहम्मद सिराजले ३ विकेट लिएपछि श्रीलंकाको इनिङस धरासायी भएको हो । श्रीलंकाका पाँचजना ब्याट्स्म्यान शून्य रनमा पेभेलियन फर्किए ।
त्यसअघि भारतले तीनजना खेलाडीको अर्धशतक मद्धतले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा ३५७ रन बनाएको थियो । शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस ऐयरले ८२ रनको योगदान गरे ।
श्रीलंकाका दिल्सान मदुशंकाले ५ विकेट लिए पनि विशाल अन्तरको पराजय टार्न सकेनन् । तालिकामा १२ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।