महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार ट्राफिक प्रहरीले ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक पर्चा वितरण गरेको छ ।ट्राफिक कार्यालय जलेश्वरका प्रमुख (ट्राफिक प्रहरी सहायक निरीक्षक) दिपेन्द्र कुमार पाण्डेको नेतृत्वमा खटेका ट्राफिक प्रहरीको टोलीले जलेश्वरको महेन्द्रचौकमा पर्चा विरतण गरेको हो ।ट्राफिक प्रहरीले जलेश्वरको महेन्द्रचौकबाट आवत जावत गरेका प्रत्येक मोटरसाईकल, अटोरिक्सा, टेम्पु, जिप लगायतका सवारी साधन चलाउने चालकहरुलाई जनचेतनामूलक पर्चा बाँडेका छन् ।ट्राफिक प्रहरी कार्यालय जलेश्वरका प्रमुख एवं ट्राफिक प्रहरी सहायक निरीक्षक दिपेन्द्र कुमार पाण्डेको अनुसार जम्मा पाँच सय जना सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी विभिन्न संदेशमूलक जानकारीहरु उल्लेख गरिएको पर्चा वितरण गरिएको हो ।
ट्राफिकले वितरण गरेको पर्चामा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, अपनाउनुपर्ने सावधानीहरु र गर्नु÷नगुर्नपर्ने करीब ३० प्रकारका संदेशमूलक जानकारीहरु उल्लेख गरिएको थियो ।
ट्राफिक प्रहरीले जलेश्वरमा गरेको जनचेतनामूलक पर्चा वितरणबाट यस क्षेत्रमा सवारी साधन दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी सहायक निरीक्षक दिपेन्द्र कुमार पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।