
जनकपुरधाम - पूर्व राष्ट्रपति डा.रामवरणका पुत्र डा.चन्द्रमोहन यादवको गुट लक्ष्मीनिया गाउँपालिकाको वडा नं.४ सपहीमा पराजित भएको छ ।
सो गाउँपालिकाको वडा नम्बर ४ मा मात्र चुनाव भएको थियो ।सोमवार भएको मतदानमा यादवको पक्षमा ५१ मत मात्र परेको थियो ।उनको विपक्षमा १सय १ मत खसेपछि डा.यादवको गुटबाट कुनै पदमा प्रतिनिधित्व हुन सकेन् ।
यादव भने कांग्रेसको विधान अनुसार हारे, जितेका प्रदेश सभा र संघीय संसदका उम्मेदवारहरु स्वतःप्रतिनिधि हुने कोटामा परेका छन् । युवा नेता विजय यादवको नेतृत्वमा भएको चुनावमा डा.यादवलाई गाउँमै पराजित गरिएपछि महाधिवेशन प्रतिनिधि सम्म पुग्न फेरी उनलाई समस्या देखिएको छ । विजय यादव गाउँपालिका सभापतिका उम्मेदवार रहेका छन् ।वडा नम्बर ४ को सभापतिमा रघुनन्दन यादव निर्वाचित भएका छन् ।
धनुषा जिल्लाको नगराईनबाट विमलेन्द्र निधि, अनामिका निधि, स्मृतिनारायण चौधरी लगायतका नेताहरु सर्वसम्मतिबाट प्रतिनिधि चयन भएका छन् ।नेता निधिले उदारता देखाएपछि नगराइनमा सर्वसम्मति भएको छ । निधि परिवारबाट श्रीमती अनामिका निधि समेत आधा दर्जन बढी प्रतिनिधि भएपछि अनुकुल निधिलाई अन्तिम समयमा प्रतिनिधि हुनबाट रोकिएको बताइएको छ ।