
काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार (आज) ७४ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ।
वडा र पालिका अधिवेशन सकेर थप संरचनामा अधिवेशन हुन नसकेका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो।
रसुवा, सिन्धुपाल्चोक र सर्लाहीमा वडा अधिवेशन हुन नसकेकाले ती जिल्लाको अधिवेशन पर सर्ने भएको छ। सिन्धुपाल्चोकमा तीन वडामा अधिवेशन बाँकी छ। तीन जिल्लाबाहेक अन्यमा प्रदेश सभा क्षेत्रको निर्वाचन एक साथ हुन लागेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक रहेका जिल्लामा जिल्ला अधिवेशन मंसिर ६ मा तोकिएको छ। एक भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा मंसिर १० मा जिल्ला अधिवेशन हुनेगरि मिति तोकिएको छ।
हिमाली २१ जिल्लामा दसैंअघि जिल्ला अधिवेशन सक्ने पार्टी कार्यतालिका कार्यान्वय हुन सकेको थिएन। हालसम्म १४ जिल्लाको अधिवेशन सकिएर ३९० प्रतिनिधि चयन भएका छन्। हिमाली जिल्लामा गणना हुने सिन्धुपाल्चोक र रसुवाको वडाको अधिवेशन अनिश्चित हुँदा थप संरचनाको अधिवेशन हुन नसकेको हो।
वडा र पालिका अधिवेशन सकिएको डडेलधुरामा पनि विवाद छ। संस्थापनइतर पक्षले वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ। पुनः अधिवेशनको माग गर्दै डडेलधुराका असन्तुष्ट पक्षका कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन्।
१४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने गरी मिति तय गरिएको छ।